डा. शेखर कोइराला , प्रजातन्त्रवादी प्राध्यापक संघको राष्ट्रिय अधिवेशन समयमा नै हुनुपर्ने
डा. शेखर कोइराला , प्रजातन्त्रवादी प्राध्यापक संघको राष्ट्रिय अधिवेशन समयमा नै हुनुपर्ने
    • बेल संचार

    • १२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । 

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रजातन्त्रवादी प्राध्यापक संघको राष्ट्रिय अधिवेशन समयमा नै हुनुपर्ने बताएका छन् ।

शुक्रवार कोइराला निवास विशालनगरमा संघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा उनले लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष भनेको नै अधिवेशन रहेको भन्दै संघको राष्ट्रिय अधिवेशन समयमै हुनुपर्ने बताए ।

अधिवेशनबाट आउने नयाँ नेतृत्व सकेसम्म सहमतिमा र नभए लोकतान्त्रिक पद्धतिबाट चयन गर्न पनि उनले सुझाव दिएका छन् ।

नेता कोइरालाले प्राध्यापकहरूको हक र हितको लागि संस्थाले उदाहरणीय काम गरिरहेको भन्दै अब विश्वविद्यालयको सुधार र प्राज्ञिकस्तर वृद्धिमा लाग्न संघलाई सुझाव पनि दिए ।

नयाँ नेतृत्वले यी विषयलाई समेटेर अघि बढ्ने विश्वास रहेको उनले बताए ।

भेटमा संघका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले आम प्राध्यापकका मुद्दा समेट्न  र संगठनलाई गतिशील बनाउन पाँचौं राष्ट्रिय अधिवेशन अपरिहार्य भएको बताए ।

कोरोना महामारी र आम चुनावका कारण यसअघि पटक–पटक सर्दै आएको पाँचौं अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने गरी आफूहरू तीव्र तयारीमा लागेको उनको भनाइ थियो।

भेटमा अध्यक्ष तिमिल्सिनाले महाधिवेशनको विशिष्ट अतिथिको रूपमा उपस्थितिका लागि कोइरालालाई निमन्त्रणा पत्र समेत प्रदान गरेका थिए ।

संघको राष्ट्रिय अधिवेशन आगामी जेठ १९ र २० गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

महाधिवेशनले आगामी तीन  वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अहिलेसम्म अध्यक्ष पदका लागि वर्तमान सचिव विष्णु पोख्रेलले मात्रै दाबेदारीको घोषणा गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित