राष्ट्रपतिबाट आममाफी रेशम चौधरीसहित १९ जनालाई
राष्ट्रपतिबाट आममाफी रेशम चौधरीसहित १९ जनालाई
    • Bell Sanchar

    • १४ जेष्ठ २०८०, आईतवार

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् ।

गणतन्त्र दिवस (जेठ १५)का अवसरमा राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी आममाफी सम्बन्धमा जानकारी गराएकी छन् ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा रेशम चौधरीको नाम उल्लेख नगरिए पनि आममाफी पाउने १९ जनाको सूचीमा रेशम समेत रहेको राष्ट्रपति कार्यालय स्रोतले लोकान्तरलाई बतायो ।

यसका अलावा राष्ट्रपति पौडेलले ४८२ जनाको कैद कट्टी गरी भुक्तान हुन बाँकी कैद माफी दिएका छन् ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/२/१२ को बैठकको सिफारिसमा मिति २०८०/२/१५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ (चार सय पचहत्तर) जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ (सात) जना गरी कुल जम्मा ४८२ (चार सय बयासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको छ,’ राष्ट्रपति कार्यालयको अर्को विज्ञप्तिमा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित