सरकारले सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि
सरकारले सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि
    • Bell Sanchar

    • १६ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

सरकारले सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार वृद्धि गरेका हुन् ।

यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेकोमा अब त्यो १५ प्रतिशतले वृद्धि भएर १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै प्रति १० ग्राम चाँदीमा १०७ रुपैयाँ भन्सार लाग्दै आएकोमा १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको भन्सारका कारण अब प्रति १० ग्राम सुनको मूल्यमा भन्सार महसुल १२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

मंगलबार सोहीअनुसार सुन र चाँदीको मूल्य समायोजन गरेर महासंघले नयाँ मूल्य तोकेको छ ।

मंगलबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार एक सय र तेजावी सुनको मूल्य १ लाख ७ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको थियो ।

सरकारले बढाएको भन्सार दर समायोजन गर्दा मूल्य बढेको महासंघका अध्यक्ष मानिकरत्न शाक्यले बताए ।

अब १० लाख रुपैयाँ भन्दा बढीको सुनचाँदी एकै पटक खरिद गर्दा पनि थप २ प्रतिशत कर विलासिता कर लाग्ने भएकाले सुन थप महँगो हुने महासंघले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित