काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबारमा बिहान ११ बजेदेखि जारी बैठकमा नागरिकतालगायत विषयमाथि छलफल भइरहेको एक सांसदले जानकारी दिए।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।
रास्वपाका सभापति रवि लामिछानेले संसदीय मूल्य-मान्यता र राष्ट्रहितविपरीत गएर विधेयक प्रमाणीकरण गरेको टिप्पणी गरेका थिए।
‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मूल्य, मान्यता र राष्ट्रहितविरूद्ध छ,’ उनको प्रतिक्रिया थियो।
तर, पार्टीका केही सांसदले फरक धारणा दिएपछि एउटै बोली बनाउन छलफल गरिएको बताइएको छ।
रास्वपाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे पनि छलफल गरिरहेको बताएको छ।
माओवादी केन्द्रलगायतका सांसदहरूले सांसद विकास कोष ब्युँताउन नहुने बताइरहेका बेला रास्वपाले पनि यसबारे एकीकृत धारणा तय गर्न लागेको हो।
संसदीय दलको बैठकपछि रास्वपाको केन्द्रीय समितिको बैठक पनि बस्दैछ।