काठमाडौं ।
भारतबाट पहिलो कार्गो रेल विराटनगरको बुद्धनगरस्थित कस्टम यार्डमा आइपुगेको छ । एकीकृत भन्सार जाँच चौकी(आइसीपी) मा आएपछि नेपाल र भारतका अधिकारीहरूले स्वागत गरेका छन्।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल सेवाको उद्घाटन गरेका थिए ।
विराटनगरसम्म कार्गोसहितको रेल्वे सेवा शुरू गर्न उद्योगी व्यवसायीले माग गर्दै आएका थिए ।
रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री बोकेर रेल नेपाल आइपुग्नु कोसी प्रदेशवासीकै लागि गौरवको विषय भएको विराटनगरका उधोगी व्यापारीहरूको भनाइ छ ।
सुनसरी–मोरङ औधोगिक करिडोरका उद्योगहरूका लागि आवश्यक सामाग्रीओसार पसार गर्न भारतले संरचना निर्माण गरिदिएको हो ।
बुद्धनगरसम्म ट्रयाक विछ्याउनेदेखि, स्टेशन तथा यार्ड निर्माणको कार्य यसअघि नै सम्पन्न भइसकेको थियो ।
तर, नेपालतर्फको मोरङको कटहरीमा जग्गा मुआब्जा विवादका कारण रेल्वेको यार्ड निर्माण हुन काम शुरू हुन सकेको छैन ।
बथनाहादेखि विराटनगरसमम रेल्वेको काम शुरू भएको १२ वर्ष भयो ।
मोरङको कटहरीसम्मको १८ दशमलव ६ किलोमिटर लम्बाई ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माणाधीन छ ।
करिब चार अर्ब भारतीय लगानीमा भारतको इरकोन कम्पनीले सन् २०११ मा रेलको ट्रयाक विछ्याउनेलगायत काम शुरू गरेको थियो ।
सन् २०१७ मै निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने थियो । हालसम्म विराटनगर आइसीपीसम्मको ८ किलोमिटर क्षेत्रमा रेल चल्न सक्ने गरीको संरचना भने तयार भइसकेको छ ।
कटहरी गाउँपालिका वडा नं १ महेशपुरका २२ जना जग्गाधनीले ६ विघा जमिन अधिग्रहण गर्न नदिने भन्दै सर्वोच्चमा मुद्दा हालेका छन् । मुआब्जा सम्बन्धी मूल्य कम भएको भन्दै स्थानीयवासी रुष्ट छन् ।