प्रधानमन्त्री प्रचण्डले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रमा अवलोकन
    प्रधानमन्त्री प्रचण्डले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रमा अवलोकन
    • Bell Sanchar

    • १९ जेष्ठ २०८०, शुक्रबार

इन्दोर । 

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गर्नुभएको छ ।

सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताउनुभयो ।

कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ ।

केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिनुभयो ।

सो केन्द्रले फोहरलाई व्यस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उहाँको भनाइ छ ।

उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ ।

केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिहरु पठाइ फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताउनुभयो ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न आज बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुग्नुभएको हो ।

इन्दोर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालको सम्मानमा आजै मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

प्रधामन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत जानुभएको हो ।

साताकाे चर्चित
सम्बन्धित