नेपाली यू-२० महिला पुटबल टिमलाई बिदाइ
नेपाली यू-२० महिला पुटबल टिमलाई बिदाइ
    • Bell Sanchar

    • २१ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला पुटबल टिमलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार गरेको कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरे ।

नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ ।

नेपालले जुन ६ मा आयोजक म्यानमारसँग पहिलो खेल खेल्नेछ ।

यस्तै जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेईसँग खेल्नेछ ।

गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरण छनोटको समूह बीको विजेता बन्दै नेपाल दोस्रो चरणमा छनोटमा प्रवेश गरेको छ ।

पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दनमरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गरेको थियो ।

दोस्रो चरणमा प्रवेश गरेपछि नेपालले दुई महिना क्लोज क्याम्पमा बसेर तयारी गरेको थियो ।

नेपाली टिमका प्रशिक्षक याम गुरुङ र कप्तान दिपा शाहीले दुई महिनामा नेपालको तयारी राम्रो भएको बताएका छन् ।

यसअघि पहिलो चरणमा कप्तानी गरेकी प्रिति राई घाइते रहेकोले दिपाले नेपालको कप्तानी गर्दैछन् ।

प्रशिक्षक याम गुरुङले दोस्रो चरणमा पनि नेपालले राम्रो प्रदर्शन गर्ने अन्तिम चरणमा छनोट हुने लक्ष्य रहेको सुनाए ।

‘पहिले भन्दा राम्रो खेल्ने अपेक्षा राखेका छौं । चीन भन्दा पनि चाइनिज ताइपेई र म्यानमारको गेम खेल्ने तरिका, प्रदर्शन, व्यक्तिगत क्षमता युट्युबमा हेरेका छौँ ।

हाम्रो टिम पनि उनीहरुको भन्दा कमजोर जस्तो लाग्दैन । त्यसैले राम्रो प्रदर्शनको अपेक्षा छ’, एन्फा टिभीसँगको कुराकानीमा गुरुङले भनेका छन् ।

यस्तै पहिलो पटक कप्तानी गर्न लागेकी दिपा शाहीले पनि राम्रो तयारी भएको र पहिलो चरण पार गरेपछि टोली उत्साहित रहेको बताएकी छन् ।

‘पहिलो चरण पार गरेपछि हाम्रो लक्ष्य अब अन्तिम चरणमा छनोट हुने छ । त्यसका लागि दोस्रो चरणमा राम्रो प्रदर्शन गर्ने लक्ष्य छ ।

टिम पनि मोटिभेट छ,’ दिपाले भनिन्, ‘चीन, म्यानमार र चाइनिज ताइपेई हामी भन्दा माथिको टिम हो । तर हामी दुई सय प्रतिशत दिएर खेल्छौं ।’

उनले आफ्नो भूमिका अब प्लेमेकर सहित कप्तानको पनि भएको र टिमलाई कसरी माथि उठाउने र कसरी जित्ने भन्नेमा केन्द्रित हुने बताइन् ।

नेपाली टोली

गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान

डिफेण्डर : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही (कप्तान), हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य

फरवार्ड : अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

दोस्रो चरणको छनोटमा नेपाल समूह बी मा छ । यस समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि छन् ।

साताकाे चर्चित
सम्बन्धित