काठमाडौं ।
आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यासखेलमा नेपाल स्कटल्याण्डसँग १३५ रनमै अलआउट भएको छ ।
जिम्बाव्वेमा हुने विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल टिमले टस हारेर पहिला ब्याटिङ गरेको थियो ।
एकदिवसीय खेलमा नेपाली खेलाडीहरु २८.५ ओभरभन्दा टिक्न सकेनन् ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर छैटौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए ।
आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा ब्रण्डन म्याकमुलेन र ज्याक जार्भिसले ३–३ विकेट लिए । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
दक्षिण अफ्रिकामा रहँदा नेपालले नेदरल्याण्ड्ससँग पनि अभ्यास खेल खेल्नेछ । सो खेल २७ जेठमा खेलिनेछ ।
जिम्बाव्वेमा हुने प्रतियोगिताअघि नेपालले ३० र ३२ जेठमा क्रमसः यूएई र ओमानसँग अफिसियल अभ्यास खेल खेल्नेछ ।
३ असारदेखि सुरु हुने प्रतियोगितामा आफ्नो पहिलो खेल नेपालले सोही दिन आयोजक टिम जिम्बाव्वेसँग खेल्नेछ ।
नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।