काठमाडौं ।
नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले माल्दिभ्समा हुने ‘फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप’ खेल्ने भएको छ ।
नेपालको पुरुष टोलीले तीन वर्षभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय बास्केटबल खेल्न लागेको हो ।
पछिल्लो पटक नेपालले २०१९ डिसेम्बरमा नेपालमै भएको १३औं साग खेलेको थियो ।जहाँ पुरुष टिमले कास्य पदक जितेको थियो ।
२०२१ मा बंगलादेशमा भएको साबा पुरुष बास्केटबलमा नेपालले सहभागिता जनाएन ।
यही जुन १४ देखि जुन २२ तारिखसम्म माल्दिभ्समा हुन लागेको फाईभ नेसन्स प्रतियोगितामा नेपालले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।
प्रतियोगिताका लागि नेपाली टोली पनि घोषणा भएको छ । टोलीका खेलाडीहरुमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् ।
प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ ।
प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित नेपालले मुख्य प्रशिक्षक दिनेश नकर्मीको प्रशिक्षणमा एक महिना प्रशिक्षण गरेको नेपाल बास्केटबल संघले जनाएको छ ।