काठमाडौं ।
मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ ।
शुक्रवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसयालाई ८४ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३०.५ ओभरमा ९९ रनमै अलआउट भयो ।
मलेसियाका मोहम्मद हैरिलले २५, मोहम्मद आलिफले १५ र आशिष लुहारले १२ रन नाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।
नेपालले मलेसियालाई हराएसँगै समूह विजेता बन्दै सेमिफाइनल खेल्न पुगेको छ । मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो ।
नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो ।