जुम्लाको साल्ट ट्रेडिङमा ३ सय २० क्विन्टल नुन ढुवानी , स्थानीयले ढुंगामुढा गरेपछि
जुम्लाको साल्ट ट्रेडिङमा ३ सय २० क्विन्टल नुन ढुवानी , स्थानीयले ढुंगामुढा गरेपछि
    • बेल संचार

    • ३ श्रावण २०८०, बुधबार

काठमाडौं ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्ष ०७९/८० को असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ ।

प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको जानकारी दिए ।

प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक र्‍याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ र्‍याक नुन आयात हुने गर्दछ ।

कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिए ।

जुम्लामा नुनको कमी हुन नदिन सोमवार मात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

उनले प्रत्येक नयाँ आर्थिक वर्षका साउनदेखि नयाँ ‘टेन्डर’का लागि आह्वान गरिने भएकाले उक्त नयाँ टेन्डरका लागि सम्पूर्ण कागजात काठमाडौं पठाई सकिएको बताए ।

जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै गत आइतवार डिपोमा उपभोक्ताले तोडफोड गरेका थिए ।

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । भिडियोमा केही व्यक्तिहरू हुलदंगा गरिरहेको देखिन्छ ।

उनीहरूको प्रहरीसँग पनि घम्साघम्सी भएको छ । केहीले प्रहरीतर्फ ढुंगामुढा पनि प्रहार गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित