जुम्लामा १२ हजार पशु ‘लम्पी स्किन’बाट संक्रमित
जुम्लामा १२ हजार पशु ‘लम्पी स्किन’बाट संक्रमित
    • बेल संचार

    • ९ श्रावण २०८०, मंगलवार

जुम्ला ।

जुम्लाका ८ वटै स्थानीय तहका करीब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट संक्रमित भएका छन् ।

जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार ५०० गाईभैंसी, गोरु, बाछाबाछी संक्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।

कार्यालयबाट स्थानीय तहलाई ७५ का दरले खोप वितरण गरिएको छ । बजेटको अभावले सम्बन्धित स्थानीय तहलाई औषधि खरिद गरी उपचार गर्न निर्देशन गरिएको छ । स्थानीय तहमै पशु प्राविधिक खटाएको कार्यालय प्रमुख बुढ्थापाको भनाइ छ ।

रोगबाट मरेका पशुको संख्या र विवरण पठाउन भनी जिल्लाका स्थानीय तहलाई पत्राचार गरिएको छ । यकिन तथ्यांक आउन केही हप्ता लाग्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको प्रमुख बुढ्थापाले जानकारी दिए ।

जिल्लाका स्थानीय तहका करीब ५०० गाईभैंसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको पशु सेवा कार्यालयले जनाएको छ । खोप खरिद गरी पालिकामा कार्यरत पशु प्राविधिकबाट तिलाका ९ वटै वडाका स्थानीयको पशुलाई खोप लगाएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए । पालिकाको सबैभन्दा बढी वडा नम्बर २ का पशु लम्पी स्किनबाट संक्रमित भएका छन् ।

वडाका ४० वटा गाईगोरु मरेको जानकारी आएको उपाध्यक्ष बुढाको भनाइ छ । वडा नम्बर १ मा पनि व्यापक रूपमा रोग फैलिएको स्थानीय नरबहादुर रावतले जानकारी दिए ।

अहिलेसम्म ३ हजार गाईभैंसीलाई औषधि वितरण गरिएको तिला गाउँपालिकाको पशु सेवा कार्यालयले जनाएको छ । रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, लम्पी स्किनका कारण गाईभैंसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

गाईभैंसीमा रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ । यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिंगा लगायतको टोकाइबाट लाग्ने गर्दछ । संक्रमित गाईवस्तुको ओसारपोसारबाट, सामुदायिक चरन क्षेत्र तथा दानापानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित