अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारका विषयमा अन्तरक्रिया
अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारका विषयमा अन्तरक्रिया
    • शर्मिला विश्वकर्मा

    • १८ श्रावण २०८०, बिहीबार

काठमाडौँ

अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वाबल्मवन जीवन पद्ती केन्द्र काठमाडैले पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न सहायता तथा सेवामा पहुँच पुर्यउनका लागि सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्दै आएको एक गैरसरकारी संस्था हो । यस संस्थाले पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यकता अनुसारको उपकरण, सामग्री सेवा, शिक्षा, स्वास्थ्य, गमनशीलता, रोजगारी, राजनीतिक अधिकार, नीति नियम तथा ऐन कानुन निर्माण लगायतका सवालमा वकालत तथा पैरवी गर्दै आएको छ ।
यसै सन्दर्भमा यस संस्थाले CFL/FCIL को सहयोगमा क्षमता विकास तथा पैरवीको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूको नागरिक एवं राजनीतिक अधिकारको प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । यसै कार्यक्रम अन्तर्गत हिजो साउन १५ गते सोमबार काठमाडौँमा CFL/FCIL को सहयोगमा प्रमुख राजनीतिक दलहरूको विद्मान तथा घोषणा पत्रहरूमा गरिएको अध्ययन सम्बन्धी एक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

यस अन्तरक्रिया कार्यक्रममा आयोजक संस्था CIL काठमाडौँका परियोजना संयोजक कृष्ण दहलाले यस कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारका लागि अपाङ्गता भएका व्यक्तिहरू आवद् भएका भातृसंगठनहरुलाई पैरवी तथा वकालतको लागि तालिम सञ्चालन गर्ने,यसै विषयमा १५ वटा बैठक गर्ने र यी नै बैठकबाट आएका सल्लाह सुझावका आधारमा प्रमुख राजनीतिक दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउने बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रशासकीय प्रमुख तथा अध्ययन अनुसन्धानकर्ता मनिष प्रसाईले ५ विभिन्न राजनीतिक दलका विधान र घोषणा पत्रमा अपाङ्गता समावेशीकरणको अवस्थाका विषषयामा प्रस्तुतीकरण गर्नु भयो । र यस प्रस्तुतीकरणका क्रममा उहाँले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पाटी र राष्ट्रिय प्रजातन्त्र पाटीको विधान र घोषणा पत्रमा अपाङ्गता भएका व्यक्तिहरूको सवाल तथा सेवा सुविधाको व्यवस्थापनको विषयमा अध्ययन अनुसन्धान गरिएको बताउनु भयो ।

यसै क्रममा उहाँले यी ५ वटै राजनीतिक दलका विधान र घोषणा पत्रहरूमा अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई संवोधन गरी छुट्टै व्यवस्था नगरिएको पाइयो ।
त्यसै गरी आयोजक संस्था CIL काठमाडौँका महासचिव गणेश के.सी.ले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारका लागि विभिन्न भातृसंगठनहरुसँग विभिन्न चरणमा यस विषयमा छलफल गरिने र उक्त छलफलबाट आएका सल्लाह सुझावहरूको आधारमा राजनीतिमा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू समावेश गरी ध्यानाकर्षण पत्र तयार गरेर मुख्य राजनीतिक दलहरूलाई बुझाइने बताउनु भयो ।

यस अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि भातृसंगठनमा आवद् भएका सबै अपाङ्गता भएका व्यक्तिहरू एक जुट भएर अपाङ्गता भएका व्यक्तिहरूका सवाल पहिचान गरी राजनीतिक दलहरूका विधान तथा घोषणा पत्रमा समावेश गर्न प्रयत्न गर्नु पर्ने बताउनु भयो ।

त्यसै गरी अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले राजनीतिक विषयमा अपाङ्गता भएका व्यक्तिहरूलाई जनचेतना जगाउनु पर्ने, प्रत्येक राजनीतिक दलमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता गराउनु पर्ने, राजनीतिक दलका पाटी कार्यलयहरु अपाङ्गता मैत्री बनाउन वकालत तथा पैरवी गर्नु पर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि अन्तर पाटी सञ्जाल बनाएर विभिन्न समयमा छलफल गर्नुका साथै राजनीतिक दलहरुलई सचेत गराउनु पर्ने कुरामा जोड दिनु भयो ।

यस अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघका सचिव तारानाथ सिग्देलले राजनीतिक अधिकार कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि जरुरी रहेको भन्दै नेपालमा करिब २ लाख कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरू रहेको बताउनु भयो । यसै गरी उहाँले कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले, कानुनले विभेद गरेको, उनीहरूलाई अपाङ्गता परिचय पत्र बनाउन पनि चुनौती रहेको र राजनीतिक अधिकार सुनिश्चितका लागि कुष्ठ प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहभागिता गराइनु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी यस अन्तरक्रिया कार्यक्रमको आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवन पद्ती केन्द्र काठमाडौँका अध्यक्ष टेक बहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकारकार सुनिश्चित गर्नका लागि आगामी दिनहरूमा पनि यस्ता छलफलका कार्यक्रमहरूको आयोजना गर्नु पर्ने बताउँदै सबै राजनीतिक दलहरूलाई अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू प्रति सचेत गराउनु पर्ने बताउनु भयो । त्यसै गरी उहाँले सबै राजनीतिक दलमा आस्था राख्ने अपाङ्गता भएका व्यक्तिहरू एक जुट भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित