हरिवंश र शान्तिश्रीको ‘ए केटा मादलु पड्का’ सार्वजनिक [भिडियो]
हरिवंश र शान्तिश्रीको ‘ए केटा मादलु पड्का’ सार्वजनिक [भिडियो]
    • बेल संचार

    • १८ श्रावण २०८०, बिहीबार

काठमाडौं । 

‘काउली’को सफलतापछि वरिष्ठ अभिनेता हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई ‘काउली’कै गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

चार महिनाअघि सार्वजनिक लोक लयको ‘काउली’ गीत ल्याएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन् ।  तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज वलीलाई सुनाउँदा तत्काल यो संयोग जुरेको उनी बताउँछन् ।
‘अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन,’ हरिवंशले भने, ‘दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरू गीत गाउँदै उफ्री–उफ्री नाचिरहेको देखेँ । त्यहीबेला अचानक मेरो दिमागमा एउटा लय फुर्यो। हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।
तैपनि पछि रेकर्ड गरौँला भनेर बसेको थिएँ । यत्तिकैमा एक दिन सरोज भाइ (ओली)लाई यो गीतको शब्द र लय कस्तो छ भनेर सुनाएँ । भाइलाई मनपरेछ । रेकर्ड गरिहालौं भने । एरेन्जर श्यामश्वेत रसाइली लिएर गइहाले । श्यामश्वेत भाइले पनि ‘यो रमाइलो छ’ भनेपछि गीतले यो स्वरूप पायो ।’

गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरूको भाव बोकेको हरिवंश बताउँछन् ।  ‘यो सन्देशमूलक गीत होइन’ उनी भन्छन्, ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेसाप्रति गर्व गरेको शब्द छ । गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे, ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ ।’ यद्यपि यो गीतमा चुनावमा हुने पैसा बाँड्ने विकृतिलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यो गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयमंले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भीर विष्टले गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित