काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् ।
११० औं बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको बताए ।
अबको ४ वर्षसम्ममा काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने उनले बताए ।
‘फास्ट ट्रयाक भएपछि ४५ मिनेटमा काठमाडौं आउन सकिन्छ, त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ, ४ वर्षसम्म एयरपोर्ट बनाइसक्नेछौं’, उनले भने ।
धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको उनले बताए । मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको पनि बताए ।