जुम्ला ।
जुम्लामा अघिल्लो वर्षको तुलनामा यस वर्षमा ४० प्रतिशतले स्याउको उत्पादन घटेको छ । जुम्लाबाट २१ मेट्रिकटन स्याउ यो वर्ष निर्यात भएको छ । ८ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार , १ सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित कार्यालय प्रमुख गणेशवहादुर अधिकारीले जानकारी दिनु भएको छ ।
गत साल जुम्लामा स्याउको उत्पादन राम्रो भएको थियो । अहिले भने सोचेको भन्दा कम स्याउ उत्पादन भएको छ । र अघिल्लो वर्ष भन्दा यस वर्षमा ४० प्रतिशतले स्याउ उत्पादन घटेको कृषि कार्यालयको तथ्यांकमा रहेको अधिकारीले बताए ।
उनका अनुसार पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । तर यस वर्ष घटेको तथ्यांक छ ।
जिल्लामा कूल स्याउ उत्पादनको विवरण सङकलन भइरहेको छ । अबको केही साता पछि जिल्ला भरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरवहादुर भण्डारीले बताउनु भयो ।
१६ हजार घर धुरी स्याउ खेतीमै निर्भर छन् । ४ हजार २ सय ५० हेक्टरमा जमिन स्याउ खेती हुने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यस वर्षमा स्याउ उत्पादन घट्नुको कारण स्याउ फुल्ने समयमा असिना पानी परेर स्याउ घटेको हुन सक्ने अनुमान गर्न सकिन्छ । यतिबेला जुम्लामा स्याउ टिप्ने चटारोमा किसान छन् । स्याउको गुणस्तर हेरेर प्रत्येक केजीको रु ५० देखि ६५ रुपैयाँ सम्म व्यापारीहरुले किन्ने गरेका छन्।
काँचो स्याउ निकालेर किसानले बेच्चे गरे पछि स्थानीय सरकारले सिफारिस लिएर मात्र स्याउ किनबेच गर्न लगाएको थियो । तिज पर्वमा स्याउ धेरै मात्रामा खपत हुने भएकोले सुर्खेत , नेपालगन्ज , दाङ , पोखरा , काठमाडौं लगायतका जिल्लाहरुमा स्याउ लिएर स्याउ व्यापारीले जुम्लाको स्याउ बेचेका छन् ।