काठमाडाैं ।
निजामती कर्मचारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाएका छन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, नासुका आँसु देख्नु भएन?’ लेखिएको एसएमएस कर्मचारीहरूले शुक्रबार प्रधानमन्त्रीको मोबाइलमा पठाएका छन्।
सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गर्न लागेकोले प्रधानमन्त्रीलाई एसएमएस पठाइएको हो। मन्त्रिपरिषदले पारित गरेको विधेयक सरकारले संघीय संसदमा पेश गर्ने तयारी गरेको छ।
कर्मचारीहरूले विधेयकमा आफ्ना माग सम्बोधन गर्न आग्रह गरिरहेका छन्।
तर विधेयकमा माग सम्बोधन नभएको पाइएको भन्दै प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघीय मामिला मन्त्री र मुख्य सचिवलाई एसएमएस पठाइएको एक कर्मचारीले बताए।
राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको पहलमा देशभरबाट कर्मचारीले विभिन्न माग राखेर एसएमएस पठाएका हुन्।
माग पूरा नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने उनीहरूले बताएका छन्।
निजामती सेवा अधिकृतमुखी बनाउँदै ५ वर्ष सेवा अवधि भएकालाई १ तह र १० वर्ष सेवा अवधि भएकालाई २ तह वृद्धि सहित तीनै तहमा तहगत प्रणाली लागु गर्न उनीहरूले माग गरेका छन्।
अधिकृत तहको सेवा प्रवेश बिन्दु छैटौँ तहलाई कायम गरिनुपर्ने माग उनीहरूको छ।
छैटौँ अधिकृत तहको पदपूर्तिमा ५० प्रतिशत खुला, १० प्रतिशत बढुवा र आन्तरिक/अन्तर तह प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ।
चौंथो तहको पदपूर्तिमा ७० प्रतिशत खुल्ला, २० प्रतिशत बढुवा र १० आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग पनि उनीहरूको छ।
अन्य पदमा हालको व्यवस्था यथावत कायम गरिनुपर्ने र तोकिएको सेवा अवधि तथा शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई एघारौँ र नवौं तहको खुला प्रतिस्पर्धामा सहभागी हुन रोक्न नहुने माग उनीहरूले राखेका छन्।
एकपटकलाई समायोजनको पुनरावलोकन व्यवस्थासहित प्रदेश र स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था गरिनुपर्ने र सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाउन कर्मचारीहरूले माग गरेका छन्।