काठमाडौं ।
राजस्व चुहावटबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ ।राजस्व चुहावटको पछिल्लो प्रवृत्ति विश्लेषण गरी नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना बनाउने जिम्मेवारी कार्यदलले पाएको छ ।
शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार कार्यदलले राजस्व सचिवको संयोजकत्वमा सुरक्षा निकाय र विभागीय प्रमुखहरु रहेको कार्यदल गठन गरेको हो । कार्यदलको संयोजन अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले गर्ने भएको छ ।
राजस्व चुहावट नियन्त्रणमा संलग्न जनशक्तिको कार्य सम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न उच्चस्तरको समन्वय आवश्यक रहेको बताएका थिए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कमजोरीको समिक्षा गरी सुधारको मार्ग पहिल्याउन आवश्यक रहेको बताएका थिए ।