फुङ्लिङ
विगतमा गाउँगाउँमा प्रसस्तै देखिने धान नाच आजभोलि भने कमै देखिन्छ । लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच पुस्तालाई हस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो ।
धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिकरूपमा नाच्ने गरिन्छ । लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । धान नाच साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दता साथ नाचमा सरिक हुन्छन् ।
लिम्बू जातिहरुको साँझा संस्थान याक्थुङचुम्लुङ ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङबोका अनुसार धान नाच साइनो सम्बन्धभन्दा अलग रहेर नाच्ने गीरन्छ । नाच्नुभन्दा अधि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । उहाँले भन्नुभयो, “धान नाच अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलबस टेक्न पुगे पनि माफी माग्नुपर्छ । यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ । यो लिम्बू जातिको चिनारीसमेत हो ।”
यो नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धान नाच अहिले ‘खला’बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुनपुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर जान लागेको याक्थुङ प्रज्ञाप्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खलामा नाचिने धान नाचमा जुन मौलिकता हुन्छ, भिडियो र स्टेजमा देखाइने धान नाचमा हुँदैन । खलाबाट त धान नाच हराइ नै सक्यो ।”
धान नाच्दा पालाम (एक प्रकारको छन्दबद्ध गीत) गाउनु अनिवार्य छ । पालाम केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरण गरेर गाइन्छ । पालाममा सृष्टिको उत्पति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् । पालाम बिटमै दर्जनौँं गीतको सङ्गीत गरेका सङ्गीतकार प्रेम पन्दाक भन्नुहुन्छ, “धान नाचको क्रममा पालाम गाउँदा गाउँदै प्रेममा परेर विवाह गर्ने दम्पति थुप्रै छन् । अहिले धान नाच र पालाम दुबै खलाबाट लोप भएर जानु दुःखद् कुरा हो ।”
धान नाचको उत्पतिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ । ‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिस कृषि युगमा प्रवेश गरेको मुन्धुममा उल्लेख छ ।
मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थाले । तब मानिसहरूले नयाँ जुक्ति निकाले । पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा ।।। हा ।।।’ भन्दै धान कुल्चन थाले । चराहरू पर भागे । धान नाच हुन गएको धान नाचबारे जानकार बताउँछन् ।
पूर्वका लिम्बू बाहूल्य जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायत जिल्लामा यो नाच लोप हुनलागेको हो । पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवा पुस्तामा मौलिक कला–संस्कृतिप्रतिको घट्दो रुचीका कारण धान नाच पनि लोप हुनलागेको याक्थुङ चुम्लुङ ताप्लेजुङका सचिव सरोज कङ्लिवाले बताउनुभयो ।
कङ्लिवाका अनुसार याक्थुङचुम्लुङ ताप्लेजुङले सङ्कटमा पर्दै गएपछि धान नाच कार्यक्रम गर्दै आएको छ । विभिन्न जात्रा महत्सव र विभिन्न पर्वमा धान नाच कार्यक्रम गर्दै आएको कङ्लिवाले बताउनुभयो । विभिन्न जातजातिको मौलिक कला–संस्कृतिको पुनःउत्थानका लागि राज्य र सम्बन्धित समुदायको सहकार्यमा साँस्कृतिक पुनःजागरणका काम गर्न जरुरी रहेको केरुङ बताउनुहुन्छ ।