झापा
वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले झापालगायत कोशी र मधेस प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको विकल्पको रुपमा ‘सुधारिएको चुलोे’ वितरण गरेको छ ।
इपिसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलोे वितरण गरिसकेको बताउनुभयो ।
खुला बजारमा रु पाँच हजार मूल्य पर्ने उक्त चुलोे विपन्न तथा श्रमिक परिवारलाई ढुवानी खर्चबापत रु दुई सय मात्र लिएर वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । विद्युत् र दाउरा दुवै प्रयोग हुने सुधारिएको चुलोे सिङ्गापुरको भिएनभी एडभाइजरी नामक दातृ संस्थाको सहयोगमा वितरण गरिएको हो । हाल झापा, उदयपुर धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा यो परियोजना सञ्चालन भइरहेको छ ।
थोरै दाउराले धेरै ऊर्जा दिने गरी चुलोेको ‘डिजाइन’ गरिएको र यसको प्रयोगबाट खाना पकाउने एलपी ग्यासको निर्भरता हट्ने संयोजक मेचेले बताउनुभयो । वातावरण प्रदूषण न्यूनीकरणमा समेत यो प्रविधिको चुलोेले सघाउ पुग्ने भएको छ ।
मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले वडा कार्यालयले स्थानीय चिया मजदुर र विपन्न परिवारको पहिचान गरेर इपिसीबाट प्राप्त पाँच सय चुलोे वितरण गरिसकेको र अरु माग भइरहेको बताउनुभयो । “थोरै दाउराले धेरै खाना पकाउन सकिने प्रविधियुक्त यो चुलोे पाउँदा विपन्न परिवार खुसी भएका छन्”, वडाध्यक्ष ओलीले भन्नुभयो, “मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको बेला खाना पकाउन विदेशबाट आयात हुँदै आएको एलपी ग्यासको प्रयोग न्यूनीकरणमा समेत यसबाट मद्दत पुगेको छ ।”
दातृ संस्था इपिसीले चुलोेको पाँच वर्षको ग्यारेन्टी दिएको र बिजुलीबाट चल्ने पङ्खा र एडप्टर बिग्रिए फेरिदिने प्रतिबद्धता जनाएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । चुलोेको कुनै पनि सामान नफाल्न आग्रह गर्दै इपिसीले पुरानो चुलोेको साटो नयाँ दिने जनाएको छ ।
चिया, यातायात, प्लाइउड र कृषि श्रमिकको ठूलो सङ्ख्या रहेको मेचीनगर नगरपालिकामा २५ हजार चुलोे वितरण गर्ने लक्ष्य लिइएको इपिसीका झापा संयोजक अमर मेचेले जानकारी दिनुभयो । चुलोे पाउने परिवारको निष्पक्ष छनोट र वितरणका लागि इपिसीले नगरपालिका र वडा कार्यालयसँग सहकार्य गरिरहेको छ ।
मेचीनगरको वडा नम्बर १, २, ४, ५, ७, ८, ९ र १५ मा चुलोे वितरण भइसकेको छ र पहिलो चरणमा निम्न वर्गीय परिवारलाई सुधारिएको चुलोे वितरण गर्ने र दोस्रो चरणमा मध्यम वर्गका उपभोक्ताका लागि विद्युतीय इन्डक्सन चुलोे वितरण गरिने संस्थाको योजना रहेको मेचेले बताउनुभयो ।
झापाको मेचीनगरपछि बुद्धशान्ति गाउँपालिकाको वडा नं ४ र ५ स्थित सुकुम्बासी बस्ती तथा इलाम जिल्लाको दक्षिणी बस्तीमा यस्तै चुलोे वितरण गर्ने योजना रहेको उहाँको भनाइ छ ।