काठमाडौं
आइसीसी टी ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ । विजेता टोली २०२४ को टीट्वान्टी विश्वकप खेल्न पाउनेछ ।
विश्वकप छनोट शुरू हुनुअघि अभ्यासका क्रममा घाइते भएका नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले हालसम्म कुनै खेल खेल्न पाएका छैनन् । ऐरी पहिलो खेल खेल्नुअघि सिंगापुरविरुद्ध सोमबार नै एंकलमा चोट लागेको थियो ।
आजको खेलमा दीपेन्द्र खेल्न आउँछन् वा आउदैनन् भन्ने धेरैको चासोको विषय बनेको छ ।
बिहीबार ओमानसँगको हारपछि मुख्य प्रशिक्षक मोन्टी देशाईले दीपेन्द्रलाई टोलीमा फर्काउन प्रयास गरेको बताएका थिए । तर मोन्टीले दीपेन्द्रको करिअर महत्वपूर्ण भएको प्रष्ट पारेका थिए । प्रशिक्षक देसाईले अहिले नै दीपेन्द्र
खेल्न सक्छ भन्ने अवस्थामा पनि नरहेको स्पष्ट पारे ।
बिहीबार दीपेन्द्रले वैशाखी हटाएका थिए । नेपाल र ओमानबीचको खेलकोक्रममा दीपेन्द्रले नेटमा गएर अभ्यास गरेका थिए । त्यही अभ्यासको कारण दीपेन्द्र खेलमा फर्किन सक्ने झिनो सम्भावना छ ।