काठमाडौं
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँदै उनले उक्त षड्यन्त्र असफल पारिने बताए ।
बिहीवार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ। त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ। तर हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं।
अहिलेको अवस्थामा दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको उनको भनाइ छ । ‘हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूचि थियो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो। तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ।’ पार्टी स्कूल कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘विचारको पक्षमा चिन्तन, मनन कमजोर भएको छ। त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन खोज्दैछन्। तसर्थ, विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ।’
पार्टी विभाजित हुँदा माओवादी कमजोर बनेको भन्दै उनले त्यसपछि प्रतिक्रान्तिहरूको मनोबल बढेको दाबी गरे ।
‘पार्टी विभाजित हुँदा पनि हामी कमजोर भयौं, प्रतिक्रान्तिहरूको मनोबल उठ्न थाल्यो। त्यसलाई चिर्न हामी रूपान्तरणका साथ अगाडि बढ्नुको विकल्प छैन । रुपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन’ उनले भने, ‘गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन। माओवादी कमजोर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ। पछिल्लो समय धरान, नेपालगञ्ज, सर्लाही लगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन। गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ। यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ।