जाजरकोट भूकम्पबाट २६ हजार ५०० भन्दा बढी घर पूरै ध्वस्त [विवरणसहित]
जाजरकोट भूकम्पबाट २६ हजार ५०० भन्दा बढी घर पूरै ध्वस्त [विवरणसहित]
    • बेल संचार

    • २२ कार्तिक २०८०, बुधबार

काठमाडौं

जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट २६ हजार ५०० वटाभन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

गृह मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरणअनुसार भूकम्पबाट २६ हजार ५२० वटा घरमा पूर्ण क्षति भएको पाइएको छ ।

छिमेकी जिल्ला रुकुम पश्चिममा सबैभन्दा बढी घर ध्वस्त भएको देखिएको छ । जहाँ १६ हजार ५७० घर पूरै ध्वस्त भएको विवरण उल्लेख छ ।

यस्तै जाजरकोटमा ९ हजार ७९४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको पाइएको छ ।

यसैगरी सल्यानका १२९, रोल्पाका १७, जुम्लाका ५, रुकुम पूर्वका २ तथा बैतडी र कालीकोटका १–१ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

त्यस्तै ३५ हजार ३९१ वटा घरमा आंशिक क्षति पुगेको विवरण उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै जाजरकोटमा भएको पाइएको छ । त्यहाँका २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।

त्यसैगरी रुकुम पश्चिमका ९ हजार ९४१ घरमा आंशिक क्षति पुगेको पाइएको छ ।

कतिपय घर सोमवार आएको अर्को भूकम्पले भत्किएका थिए ।

भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा गरी १५३ जना मानिसको मृत्यु भएको छ भने ३६४ जना घाइते भएका छन् । भौतिक सम्पत्ति र धन तथा चौपायाको पनि थुप्रै क्षति भएको छ ।

अधिकांश घाइते जाजरकोट र रुकुम पश्चिमका भए पनि केही घाइते रोल्पालगायत अन्य जिल्लाका समेत छन् ।

हेरौं विवरण:

साताकाे चर्चित
सम्बन्धित