काठमाडौं
फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि आज नेपालले यूएईको सामना गर्दैछ। यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे शुरू हुनेछ।
नेपाल रहेको समूह एचमा यूएईसँगै बहराइन र यमन छन् । होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ ।
नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ।
यसैबीच, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिफा विश्वकप एसिया छनोटको दोस्रो राउण्डमा युएईविरुद्धको खेलका लागि तयारी राम्रो रहेको बताएका छन् । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘यूएई हाम्रो समूहको एउटा बलियो टोली हो । तर हामीले पनि राम्रो तयारी गरेका छौं । हाम्रो टोलीमा युवा खेलाडीहरूको बाहुल्यता छ । रोहित र किरणबाहेक सबै युवा खेलाडी छन् । त्यसैले यो टोलीमा जोश छ।’