विराटनगर
भारतबाट आएका जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको एउटा स्थानीय तहले ड्रोनबाट गस्ती सुरु गरेका छन् । बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको हो ।
सुरुमा बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाइरहेको थियो । तर साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन प्रयोग गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले जानकारी दिए ।
करिब डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी हुँदै छिरेको हात्तीको बथानले झापा, मोरङ र सुनसरीमा जंगल आसपासका बस्तीमा आतंक सृजना गरेको छ । स्थानीयले लगाएको बाली पनि हात्तीले नष्ट गरिरहेको छ ।
हात्तीको नजिकै लगेर आवाज बजाएपछि हात्ती जुन बाटो आएको हो त्यही बाटो भाग्ने गरेको प्रधानले बताए । ड्रोनबाट बस्ती र बालीनालीमा पस्ने हात्ती धपाउन सजिलो हुने उनको अनुभव छ ।
भारतबाट छिरेको हात्तीको आक्रमणबाट तीन जिल्लामा एक महिनामा पाँच जनाको मृत्यु भइसकेको छ । झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको मृत्यु भएको हो । यी जिल्लामा ६० भन्दा बढी हात्तीको छुट्टा छुट्टै बथान छ ।
हात्तीको आक्रमणबाट ४ पुसमा हल्दिबारी गाउँपालिका–२ पाराखोरी बस्ने ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको थियो । मंसिर १८ गते बेलबारी १० भाउन्नेमा ५३ वर्षीय कमल माझीको मृत्यु भएको थियो । १५ मंसिरमा झापाको हल्दिबारी–३ को रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर बनलाई डिउटीमै रहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
१३ मंसिरमा हात्तीको आक्रमणबाट सुनसरीको इटहरी उपमहानगरपालिका–२ का रविन खड्काको मृत्यु भएको थियो । ५ मंसिरमा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
हात्तीको आक्रमणबाट तीन जिल्लामा ६ जना घाइते भएका छन् । हात्तीकै कारण झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा गरी ३७ लाख ८५ हजार बराबरको भौतिक क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।