सर्वोच्चमा मुख्य रजिष्टार पद रिक्त, को छन् दाबेदार
सर्वोच्चमा मुख्य रजिष्टार पद रिक्त, को छन् दाबेदार
    • बेल संचार

    • ८ पुष २०८०, आईतवार

 काठमाडौं

लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतको मुख्यरजिष्टार पद रिक्त भएको छ ।

न्यायपरिषदले सोमबार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरी उच्च अदालत पाटनमा कार्यक्षेत्र समेत तोकिसकेको छ ।

न्यायपरिषदले आइतबार नै सर्वोच्च अदालतका रजिष्टार निर्मला पौडेललाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको यो निर्णयसँगै सर्वोच्च अदालतमा मुख्य रजिष्टार र एक रजिष्टार पद रिक्त भएको छ ।

अब सर्वोच्च अदालतमा मुख्यरजिष्टार पदका लागि दुईजना प्रतिस्पर्धी देखिएका छन् । न्याय सेवा आयोगको अभिलेख अनुसार, न्याय प्रशासन समूहका दुई विशिष्ट श्रेणीका पदाधिकारीहरु देवेन्द्रराज ढकाल र नारायणप्रसाद पन्थी मुख्यरजिष्टार पदका दाबेदार हुन् ।

२१ माघ २०७५ मा सचिव भएका देवेन्द्रराज ढकाल हाल न्यायपरिषदको सचिव छन् । आगामी २० माघ अघि मुख्यरजिष्टार सिफारिस हुन नसकेमा ढकाल ५ वर्षे अवधि पुगेर अवकाश हुन्छन् । १७ वैशाख २०७६ मा सचिव भएका नारायणप्रसाद पन्थी हाल सर्वोच्च अदालतकै रजिष्टार छन् । उनी पनि आगामी १६ वैशाखमा ५ वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन् ।

दाबेदार व्यक्तिहरुलाई उच्च अदालतको न्यायाधीश बनाइएमा उनीहरुपछि वरियताक्रममा रहेकाहरुले अवसर पाउनेछन् ।

अहिले सहसचिवहरुमध्ये विमल पौडेल, नेत्रप्रकाश आचार्य, हरिराज कार्की, यमबहादुर बुढामगर, भद्रकाली पोखरेल, मानबहादुर कार्की वरिष्ठता क्रममा छन् । यिनीहरु मध्येबाटै दुईजना रजिष्टारमा बढुवा हुने सम्भावना रहेको न्याय सेवा आयोग स्रोतले बतायो ।

न्याय सेवामा रहेर विशिष्ट श्रेणीको पदाधिकारीलाई मुख्यरजिष्टार बनाउने व्यवस्था रहेपनि न्याय प्रशासन समूहबाटै मुख्यरजिष्टार नियुक्त गर्ने प्रचलन छ । सर्वोच्च अदालतमा मुख्यसचिव सरहको एक मुख्यरजिष्टार र सचिव सरहका दुई रजिष्टारको दरबन्दी छ । न्यायपरिषदको सचिवालयमा न्यायप्रशासन समूहकै विशिष्ट श्रेणीबाट एक सचिव रहन्छन् ।

साताकाे चर्चित
सम्बन्धित