कांग्रेसका सहमहामन्त्री राठौर : मैं हुँ भन्ने र नयाँ पार्टीलाई १० वर्ष पार्टी चलाएर देखाउन
कांग्रेसका सहमहामन्त्री राठौर : मैं हुँ भन्ने र नयाँ पार्टीलाई १० वर्ष पार्टी चलाएर देखाउन
    • Bell Sanchar

    • ४ असार २०८१, सोमबार

बुटवल ।

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर राठौरले मैं हुँ भन्ने र नयाँ पार्टीलाई १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका छन् ।

अहिलेको मैं हुँ भन्ने, नयाँ पार्टी, जातीय र धार्मिक पार्टीलाई उनले १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका हुन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रूपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको भेटघाटमा उनले भने- ‘७० वर्ष यो पार्टी (नेपाली कांग्रेस) चलाउनु, यहाँसम्म पुर्‍याउनु कति गर्नुपर्‍यो होला ? समीक्षा गर्नुस् । राणा, पञ्चायत र राजा फाल्यौं । कम्युनिस्टहरूलाई राजनीतिक र लोकतान्त्रिक पद्धतिको मूल प्रवाहमा ल्याउन कांग्रेसलाई कति ग्राहो भयो भन्ने कुरा अहिलेको नयाँ पुस्ताले बुझ्न जरुरी छ, पुरानाले बुझेका छन् ।

’प्रतिनिधि सभा सदस्यसमेत रहेका राठौरले कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको र कांग्रेसका सदस्यहरूले पार्टीमा आबद्ध हुने कुराप्रति गर्व गर्नुपर्ने बताए ।

उनले कांग्रेसले ल्याएको खुला अर्थ नीतिका कारण देश यहाँसम्म आइपुगेको दावी गरे । ‘कम्युनिस्टले गर्दा देशमा निराशा बढेको छ । कांग्रेसले गर्दा होइन । कांग्रेस जनताप्रति अझ जिम्मेवार र उत्तरदायी बन्नुपर्छ,’ उनले भने ।

सहमहामन्त्री राठौरले कांग्रेसले बाहेक यो देशमा कसैले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । मुलुकमा कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र यो सानो कुरा नभएको बताए ।

उनले विगतमा राजालाई सँगै लिएर हिँडाउन खोजिएको भए पनि राजा आफूहरूसँग जान नचाहेकोले राजतन्त्रको अन्त्य भएको बताए ।

उनले देशमा राजा फर्किन्छ भन्ने भ्रममा नरहन कांग्रेसका नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने- ‘अब मुलुकमा राजा फर्केर आउनेवाला छैनन् ।’ कांग्रेसमा एकता ल्याउने हो भने वडादेखि केन्द्रसम्म निर्वाचन नगरी सर्वसम्मत रुपमा अघि बढ्नुपर्ने उनको तर्क छ । उनले भने, ‘पार्टीलाई बलियो बनाउने हो भने वडा सभापति काम गर्ने मान्छेलाई बनाउनुपर्छ । वडा सभापति गतिशील भए पार्टी बन्छ ।’

साताकाे चर्चित
सम्बन्धित