अपाङ्गता सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न
अपाङ्गता सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न
    • शर्मिला विश्वकर्मा

    • ५ असार २०८१, मंगलवार

काठमाडौँ ।

काठमाडौँ नेपाल अपाङ्ग महिला संघले तारकेश्वर नगरपालिका वडा नं २ को सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिजो सोमबार कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि कानुनी सचेतनका विषयमा आयोजना गरिएको सो कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले जनप्रतिनिधिहरू, वडावासीहरू तथा सबै सरोकारवाला निकायहरू र नागरिक समाजले पनि अपाङ्गता र उनीहरूका अधिकारका विषयमा विद्यमान ऐन कानुन तथा सेवा सुविधाका बारेमा जानकारी हुनु पर्ने बताउनु भयो ।

साथै उहाँले आफ्नो वडामा रहेका विद्यालय, शौचालयका साथै अन्य सार्वजनिक सेवा प्रदान गर्ने निकायहरू पहुँचयुक्त बनाउनुका साथै सीप, क्षमता र योग्यताका आधारमा विभिन्न अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यसै वडाका स्वास्थ्य शाखा प्रमुख विजय कुमार देवले वडा बाट अपाङ्गता भएका व्यक्तिहरूमा पनि सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा दिने क्रममा भाषागत कठिनाइ रहेकोले अबका दिनमा साङ्केतिक भाषाको दोभासे र आवश्यकता अनुसारको सहयोगी अनिवार्य हुने पर्ने र उनीहरूसँगको सञ्चारको लागि साङ्केतिक भाषा सिक्नु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएका व्यक्तिहरूका लागि विद्यमान ऐन कानुनका बारेमा र महासचिव देवकुमारी पराजुलीले अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यले व्यवस्था गरेका र उनीहरूले प्राप्त गर्ने सेवा सुविधाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

तारकेश्वर नगरपालिका वडा नं २ का सामाजिक विकास शाखाका कर्मचारीहरू, स्वास्थ्य स्ययंम् सेवीहरू र वडाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक सेवा लिने क्रममा भोग्न परेका अवरोध, चुनौतीका बारेमा बताउँदै यस कार्यक्रमले अपाङ्गताको विषयमा धेरै कुराहरू जान्न र बुझ्न पाएकोले उनीहरूलाई सेवा प्रदान गर्न सहज हुने बताउनु भएको थियो । सो कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित