धनुषा |
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रत्येक विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने बताएका छन् ।
जनकपुरधाममा मधेश प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा आज आयोजना गरिएको ट्राफिक जनचेतनामूलक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राखेपछि सडक दुर्घटनामा कमी आउने उनको भनाइ थियो ।आजका बालबालिका भोलिका भविष्य भएकाले बालबालिकाकै विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकाले यसले समाजमा ठूलो परिवर्तन ल्याउने उनले बताए ।
मुख्यमन्त्री सिंहले बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताए ।
ट्राफिक नियम पालना गराउनका लागि उनले आग्रह गरे ।
चालकले सवारी साधनको अवस्थाका बारेमा पूर्व जानकारी राख्नुपर्ने मुख्यमन्त्री सिंहको भनाइ थियो ।