काठमाडाैं
काठमाडौंस्थित भारतीय दूतावासले नेपालका विभिन्न शहरमा योगाभ्यास गरेर योग उत्सव मनाएको छ । १०औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा दूतावासले काठमाडौंसहित पोखरा, हेटौंडा, लुम्बिनी, जनकपुर र वीरगंजलगायत नेपालका १० शहरमा शृंखलाबद्ध कार्यक्रमगरी योग उत्सव मनाएको हो । यस वर्षको नारा ‘स्वयम् र समाजका लागि योग’ भन्ने विषय अनुरूप दूतावासले मुख्य कार्यक्रमअगावै देशका विभिन्न ठाउँमा योगाभ्यासको आयोजना गरेको थियो । दूतावासका अनुसार जेठ २५ गते काठमाडौंको पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन गरिएको थियो ।
यस्तै, असार ५ गते पोखराको फेवा ताल किनारामा योग तथा ध्यान अभ्यासको आयोजना गरिएको थियो ।
सोही दिन योग र आयुर्वेदले स्वास्थ्यमा पुऱ्याउने फाइदाका विषयमा पोखरा विश्वविद्यालयका आयुर्वेद अभ्यासकर्ताहरूसँग योग प्रदर्शन तथा निःशुल्क स्वास्थ्य परामर्शको आयोजना गरिएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति तथा वरिष्ठ प्राध्यापकहरूको सहभागिता थियो ।
दूतावासले असार ६ गते पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शन गरेको गरेको थियो । योग प्रदर्शनमा अनुभवी योग प्रशिक्षकले विभिन्न आसन, प्राणायाम र ध्यान विधिबारे जानकारी दिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तैगरी असार ६ गते नै लुम्बिनीमा बृहत् योग प्रदर्शनको गरिएको थियो । कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालगायत प्रदेशका नेताहरूको उपस्थिति थियो ।
असार ७ गते पोखरा रंगशालामा योग प्रदर्शन गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका धनराज आचार्यलगायत ५००० भन्दा बढीको सहभागिता थियो ।
यस्तै, भारतको महावाणिज्य दूतावासले पनि जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियामा योगाभ्यास आयोजना गरेको दूतावासले जनाएको छ ।
देशका विभिन्न ठाउँमा कार्यक्रम गरेको दूतावासले आज (शुक्रबार) लमजुङमा योग प्रदर्शन गरेर अन्तर्राष्ट्रिय योग दिवसलाई समापन गर्ने दूतावासले जनाएको छ । भारतले अघि सारेको प्रस्तावको आधारमा १७५ सदस्य राष्ट्रको समर्थनसहित संयुक्त राष्ट्र संघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा तोकेको थियो ।