बाँके।
बाँकेको खजुरा गाउँपालिका–७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैंचाखेती गरेका छन् ।
हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उनले विगत पाँच वर्षदेखि एक विगाहा जग्गामा ढैंचाखेती गर्दै आएका छन् ।
३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैंचाको बोटले माटोमा नाइट्रोजन स्थिरीकरण गर्नाका साथै प्राङ्गारिक पदार्थको मात्रा थप्ने हुँदा प्रत्येक वर्ष यो खेती गर्ने गरेको उनले बताए ।
‘यो लगाएपछि डीएपी मल लगाउनु पर्दैन,’ उनले भने, ‘वर्षामा किसानलाई चाहिने भनेकै युरिया र डीएपी हो तर यो बेलामा समयमै मल पाइँदैन । त्यसको साटो ढैंचाले काम गर्ने हुँदा मैले यही खेती गर्ने गरेको छु ।’
एक कट्ठामा तीन किलो डीएपी मल प्रयोग हुने ठाउँमा ढैंचाको बिउ डेढदेखि दुई किलो भए पुग्ने धनबहादुर योगीले बताए । उनले यो वर्षदेखि ढैंचाको बिउको मूल्य बढेको जानकारी दिए । ‘अघिल्ला वर्षहरूमा ढैंचाको बिउ खरिद गर्दा मैले रु ६० देखि ७० रुपैयाँसम्म तिरेको थिएँ,’ उनले भने, ‘यो वर्ष एक केजी ढैंचाको बिउको भाउ रु एक सय पुगेको छ ।’
धनबहादुर जस्तै सोही गाउँका गुमानसिंह गिरीले पनि चार वर्षदेखि १२ कट्ठा जग्गामा ढैंचाखेती गर्दै आएका छन् । ढैंचाखेती गर्न थालेदेखि धान उत्पादन बढेको गुमान सिंहको अनुभव छ ।
‘धानको बिउका लागि यो असाध्यै राम्रो मल रहेछ,’ उनले भने, ‘यसको प्रयोग गर्न शुरू गरेदेखि धान बाली सप्रिएको त छँदैछ उब्जनी पनि बढेको छ ।’ ढैंचा कम्पोष्ट मल भएको हुनाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
धनबहादुर र गुमान सिंह जस्तै सोही गाउँका टेकबहादुर योगीले पनि आफ्नो १६ कट्ठा जग्गामा विगत छ वर्षदेखि ढैंचाखेती गर्दै आएका छन् ।
ढैंचाको प्रयोगले जग्गालाई उर्वर बनाउनुका साथै धान उत्पादन बढेको उनले बताए ।
सरकारद्वारा प्रदान गरिने रासायनिक मल समयमा नपाइने झन्झटले ढैंचाखेतीप्रति गाउँका किसानको आकर्षण बढेको छ ।