नेपालको डाटामा नेपालीकै पहुँच हुनुपर्छ
नेपालको डाटामा नेपालीकै पहुँच हुनुपर्छ
    • बेल संचार

    • १० असार २०८१, सोमबार

रौतहट ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले नेपालको डाटामा नेपालीकै पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । सोमबार मौलापुर नगरपालिकाको नगरसभामा सहभागी भएका साहले नागरिकसँग जोडिएका महत्त्वपूर्ण डाटाहरू विदेशीको पहुँचमा रहेको उल्लेख गर्दै यसकार्यमा सरकार र सम्बन्धित निकाय गम्भीर नबन्नु आश्चर्यको विषय भएको बताए ।

‘पासपोर्टको सफ्टवेयर विदेशीलाई,  पैसाको नोट छाप्ने सफ्टवेयर पनि विदेशीलाई, राष्ट्रिय परिचयपत्रसम्बन्धी डाटा पनि विदेशीलाई दिने काम भइरहेको छ’, उनले भने, ‘यसले त हामीले आफ्नो हैसियतलाई आफैँ कमजोर गरिरहेका छौँ ।’

नेपालको डाटामा नेपालीको मात्र पहुँचमा नबनाइकन देश र राष्ट्रियता बलियो हुन नसक्ने उनको धारणा थियो । उनले २८ जिल्लामा सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेर नागरिकले दुःख पाएको बताए ।

पर्याप्त गृहकार्य पूरा नगरी  सरकारले किन हचुवाको भरमा निर्णयहरू गरिरहेको छ भन्दै उनले आक्रोश पोखे ।  यस्तै साहले राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमा गाईजात्रा भएको भन्दै असन्तुष्टि पनि जनाए । उनले राजदूत नियुक्ति विधि अपनाएर जनताको पक्षमा हुने गरी गर्न उनको सुझाव दियो ।

मौलापुर नगरपालिका साहको गृह नगर हो । उक्त नगरपालिकाले ३९ करोडको हाराहारीको बजेट ल्याएको मेयर रीना कुमारी साहले जानकारी दिइन् ।

देशका विभिन्न स्थानीय तहमा बजेटका विषयमा जनप्रतिनिधिहरुबीच विवाद भइरहेको बेला मौलापुरले भने सर्वसम्मत ढंगले नगरसभा सम्पन्न गरेको छ । यसले मौलापुरको विकास र समृद्धिमा सबै एक ढिक्का रहेको सन्देश दिने साहको भनाइ छ ।

मौलापुरले बजेटमार्फत पानी र बिजुली निःशुल्क गर्ने घोषणा गरेको छ भने निःशुल्क करनीतिको अवधारणा पनि ल्याएको छ । यस्तै  बच्चाहरूलाई प्राविधिक शिक्षा पढ्न पनि निःशुल्क गरिएको छ । यस्तै छोरीसँग मेयर कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूको विवाहमा ३० हजार रुपैयाँ अनुदान दिइने छ ।

यस्तै गरिब दलितलाई बस्ती विकास गरेर आवासको व्यवस्था गर्ने कच्ची सडकमुक्त नगरपालिका  बनाउने जस्ता उद्देश्य लिएर बजेट ल्याइएको छ ।

साहले देशका विभिन्न स्थानीय तहमा बजेटका विषयमा जनप्रतिनिधिहरुबीच विवाद भइरहेको बेला मौलापुरले भने सर्वसम्मत ढंगले नगरसभा सम्पन्न गरेकोमा नगरप्रमुखलाई विशेष धन्यवाद दिए ।

साताकाे चर्चित
सम्बन्धित