काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाली नदीपूर्वकका सबै भूभाग नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् ।
सीमा समस्या समाधान गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पछिल्लोपटक आफूले कुरा गरेको उनले बताए । विनियोजन विधेयकमा परराष्ट्र मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकमाथि उठेका प्रश्नको मंगलबार संसद्मा जवाफ दिने क्रममा प्रचण्डले सीमा समस्या समाधानका लागि स्थापित संयन्त्रलाई क्रियाशील बनाउन मोदी राजी भएको बताएका हुन् ।‘नेपालको अन्तर्राष्ट्रिय सीमाबारे स्पष्ट र दृढ छौं ।
यस विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको छ । २०७७ असार ४ मा संविधानको दोस्रो संशोधनमार्फत नयाँ नक्सा समेटी निशाना छाप अद्यावधिक गरिएको छ,’ प्रचण्डले भने, ‘सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा कालापानी र लिपुलेक लगायत महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट छ ।’
भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटमा १९५० को शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौता परिमार्जन र अद्यावधिक गर्न एवं सीमासम्बन्धी विषय स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको उनले बताए ।
‘भर्खरै भएको मेरो भारत भ्रमणको क्रममा पनि सीमालगायत सबै विषयमा विद्यमान संयन्त्रलाई क्रियाशील बनाइ सकेसम्म छिटो यी समस्याको समाधान गर्न आग्रह गरेको छु । भारतीय प्रधानमन्त्रीले सबै मेकानिजम अगाडि बढाउन सहमति जनाउनु भएको छ,’ प्रचण्डले भने ।