सत्तारुढ दलको नियति :अस्तव्यस्त प्रचण्ड सिंहदरबारमा
सत्तारुढ दलको नियति :अस्तव्यस्त प्रचण्ड सिंहदरबारमा
    • बेल संचार

    • ११ असार २०८१, मंगलवार

काठमाडाैं |

नेकपा (माओवादी केन्द्र)का आन्तरिक संरचना र कार्यक्रम भद्रगोल देखिएका छन् । संगठनभन्दा सत्तातिरै ध्यान केन्द्रित भएपछि पार्टीका आन्तरिक संरचना र कार्यक्रम लथालिङ्ग भएका हुन् ।

निरन्तर सत्ता राजनीतिको अंकगणितमा ध्यान दिएको माओवादीले पार्टीका घोषित कार्यक्रम पनि स्थगित गरेको छ । संगठनभन्दा सत्ता राजनीतिमा रमाएको माओवादीको सांगठनिक शक्ति कमजोर हुँदै गएको छ । परिणामतः २०६४ सालमा २४० मध्ये प्रत्यक्षमा १२१ सिट जितेको माओवादी त्यसपछिका चुनावमा निरन्तर ओरालो बाटो हिँडेको छ । २०७० मा ५४ र २०७४ मा ५३ सिट जितेको माओवादी २०७९ मा ३२ सिटमा खुम्चिएको थियो ।  आगामी २०८४ को चुनावमा माओवादीको अवस्था अनुमानयोग्य छ । सत्ता समीकरणको खेलमा माओवादीसँग ३२ सिट मात्रै छ । तर, ७७ सिटको एमाले र ८७ सिटको कांग्रेसलाई घुमाएर निरन्तर सत्तामा टिकिरहेको छ ।

संगठनभन्दा सरकारतिरै ध्यान, तदर्थवादमा चल्दै भ्रातृ संगठन

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि उनको ध्यान सत्तामै केन्द्रित छ । उनलाई गठबन्धन फेरी–फेरी सत्ता टिकाउनै ठिक्क छ । अनेक ‘उथलपुथल’ गरेर सत्ता टिकाउन माहिर प्रचण्ड आफैंले माओवादी ५ वर्ष नै सत्तामा रहने उद्घोष गर्दै आएका छन् । गत शनिवार मात्रै पनि प्रचण्डले माओवादीसँग पाँचै वर्ष सत्तामा रहने ‘जादुवाला नम्बर’ रहेको बताएका थिए ।

‘सबै परिस्थिति र तरिका मिल्यो भने पूरै अवधि सरकारमा बसिन्छ भन्ने परिस्थिति देखेको छु । ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन कसैलाई पनि सजिलो छैन’, प्रचण्डले गत शनिबार पार्टीनिकटको राष्ट्रिय मुक्ति मोर्चा नेपालका कार्यकर्तालाई भने, ‘हामीसँग जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । त्यसैले थोरै नम्बर छ भनेर चिन्ता पर्दैन ।’

सत्ता राजनीतिमा सबै दाउपेच प्रयोग गरेर प्रचण्डले आफू खरो उत्रिने बताइरहँदा पार्टीको अवस्था भने भद्रगोल

छ । माओवादीका आन्तरिक बैठक नबसेकै महिनौं भइसक्यो । स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक नबसेको ४ महिना नाघिसक्यो । तर, अझै बस्ने सुरसार छैन ।

माओवादीले पछिल्लोपटक तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाएको थियो । तर, २१ फागुनमा कांग्रेसबाट सत्ताको काँध फेर्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितसँग समीकरण बनाएपछि माओवादी सांगठनिक काममा झन् बढी सुस्त देखिएको हो ।

माओवादी सांसद लेखनाथ दाहाल पार्टी अध्यक्ष प्रचण्ड जताततै व्यस्त हुने गरेको बताउँछन् । ‘माओवादी पार्टीमा अध्यक्ष प्रचण्ड जता गयो त्यतै व्यस्त हुने अवस्था छ । अहिले सरकारको नेतृत्व गरिरहनुभएको छ । सरकारमा नै बसेर केही गर्ने हुटहुटी देखिन्छ । त्यसले संगठनभन्दा सरकारतिरै बढी ध्यान गएको हो,’ दाहालले भने, ‘पार्टीलाई व्यवस्थित गरेर लान आवश्यक छ । यसको लागि अब विशेष महाधिवेशन घोषणा गरेर गएपछि एउटा बाटो तय हुन्छ ।’

पार्टीले हिमाल, पहाड, तराई र मधेश कार्यक्रम घोषणा गरेको थियो । तर, सत्तामै केन्द्रित हुँदाको व्यस्तताले माओवादीले यो कार्यक्रम नै स्थगित गरेको छ ।

माओवादीका अधिकांश भ्रातृ संगठनको कार्यालय कोटेश्वरस्थित केन्द्रीय कार्यालयमै छन् । तर, यी कुनै पनि चलायमान र सक्रिय छैनन् । बरु झण्डै तीन वर्षदेखि तदर्थवादमा चल्दै आएका छन् । समयमा महाधिवेशन गर्ने सुरसारसमेत संगठनको छैन । वाईसीएल, अनेरास्ववियु क्रान्तिकारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल मजदुर संगठन, अखिल नेपाल किसान महासंघ, जनजाति महासंघ, बुद्धिजीवी संगठनसहितका दुई दर्जन बढी संगठन वर्षौदेखि तदर्थवादमा चल्दै आएका छन् ।

युवा र प्रभावशालीलाई अविश्वास

माओवादीमा प्रचण्डपछिको वरीयतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । उनी पनि सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री छन् । उपाध्यक्षको दोस्रो वरीयताको अध्यक्षमा कृष्णबहादुर महरा, तेस्रोमा अग्निप्रसाद सापकोटा र चौथोमा पम्फा भुसाल छिन् । महरा एकपछि अर्को काण्डले पार्टीका गतिविधिमा संलग्न छैनन् । सापकोटा प्रवक्ता छन् । पहिलो रोजाइमा प्रभावशाली बनेर संगठनको कामलाई चुस्त दुरुस्त बनाउन नेता पहिलो वरीयतामा छैनन् ।

वर्षमान पुन र जनार्दन शर्माको दाबेदारबीच उपमहासचिवमा देव गुरुङलाई ल्याएपछि माओवादी झनै सुस्त बनेको नेताहरू बताउँछन् । परम्परागत ढंगले काम गर्ने गरी प्रचण्डको रोजाइमा उपाध्यक्ष श्रेष्ठ, सापकोटा र महासचिव गुरुङसहितका नेता परेको नेताहरूको भनाइ छ ।

यसैले तल्लो तहसम्म प्रभाव भए पनि उपमहासचिव पुन र शर्मा संगठनका काममा जमेर नलागेको नेताहरूकै बुझाइ छ । उपमहासचिव पुन त अर्थमन्त्रीसमेत भएकोले पार्टीका काममा लाग्नसमेत समय छैन ।

गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र मातृकाप्रसाद यादव पनि उपमहासचिव छन् । तर, उनीहरूको पनि काम नभएको नेताहरू बताउँछन् ।

‘माओवादी पदाधिकारीको वरीयता हेर्ने हो भने काम गर्ने युवासहित सक्रियता नेता उपमहासचिव र सचिवमा छन् । उनीहरूलाई जिम्मेवारी र भूमिका छैन,’ माओवादीका एक नेताले लोकान्तरसँग भने, ‘तर उपाध्यक्षमा पाका भन्दै सिनियर नेतालाई राखिएको छ । उनीहरू कि सरकारमा व्यस्त छन् वा काम होइन पद मात्रै ओगटेर बसेका छन् ।’

सक्रिय असन्तुष्ट भएर निष्क्रिय हुने र पद ओगट्नेहरू पनि सक्रिय नहुने स्थिति माओवादीमा रहेको ती नेता बताउँछन् । पदाधिकारीमा मन्त्री बनेका बाहेक थुप्रै नेताको कामै छैन । उनीहरूलाई पार्टी कामको सिलसिलामा तल्लो तहसम्मै खटाएर पार्टीका गतिविधिलाई चलायमान बनाउने, संगठन गर्ने, जनतामाझ जाने थुप्रै कार्यक्रम गर्न सकिने अवस्था छ । तर, पार्टीका बैठक नै नियमित बस्न सकेका छैनन् । पार्टी केन्द्रले नै देशभर केन्द्रीय अभियान स्थगित गरेर सत्ता राजनीतिकै जोडघटाउमा समय खर्चिने जनाउ दिएको छ ।

निरन्तर खिइँदै गएको माओवादीले तल्लो तहमा कुनै कार्यक्रम दिन नसकेको प्राध्यापक लोकराज बराल बताउँछन् । ‘पार्टी भतातुंग र कमजोर छ । संगठन सुस्त छ । कामकाजी हुनै सकेको छैन । तर, नेताहरू सत्ता केन्द्रित अभियानमा छन् । शक्तिमा कसरी झुम्नेभन्दा नीति, कार्यक्रम र योजना केही देखिँदैन,’ बरालले भने, ‘जताततै भद्रगोल र बेथिति छ । माओवादी झन् खिइँदै खिइँदै गएको छ । तल संगठन भताभुंग, कार्यक्रम छैन । माथि भाषण मात्रै छन् ।’

पार्टीमात्रै होइन सरकार चलाउन पनि प्रचण्ड असफल भएको बरालको टिप्पणी छ । ‘प्रचण्ड गफ मात्रै गर्नुहुन्छ । पाँचै वर्ष सरकार चलाउँछु मसँग जादुको छडी छ जस्तो गरी चमत्कार गर्छु भन्नुहुन्छ । तर, प्रचण्ड र उनको पार्टी मात्रै असफल भएको होइन उहाँ सरकार चलाउन पनि असफल हुनुभएको छ । के–के न गर्छु भनेर कहिले कसलाई कहिले कसलाई रिझाउँदै सरकारमा आउनुभयो । तर, सरकारमा आएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि अग्रसरता लिनुभएको छैन ।’

पार्टीमा चरम गुटबन्दी हुने र सहयोगी टाढिँदा पनि प्रचण्डले पार्टीलाई दिशा दिन नसकेको बराल बताउँछन् । ‘पार्टी २०६४ यता निरन्तर ओरालो लाग्यो, गुटबन्दी भयो, अनुभवी र सक्रियले काम पाएनन्, काम नगर्ने हाबी भएर पद मात्रै ओगटे भन्ने गुनासो छ,’ बराल भन्छन्, ‘यस्तो खेलाबैलाबीच सहयोगी पनि निरन्तर टाढिएका छन् । तर, प्रचण्डले निरन्तर यी कुराको हेक्का गरेको देखिँदैन ।’

साताकाे चर्चित
सम्बन्धित