बाढी, पहिरो र डुबान वर्षासँगै : पोखरामा राजमार्ग भासियो, लमजुङमा चारजना बेपत्ता तीन घर पुरिँदा
बाढी, पहिरो र डुबान वर्षासँगै : पोखरामा राजमार्ग भासियो, लमजुङमा चारजना बेपत्ता तीन घर पुरिँदा
    • बेल संचार

    • १२ असार २०८१, बुधबार

काठमाडाैं |

मनसुनी वायुको प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गर्मीले आहत विभिन्न ठाउँका बासिन्दालाई वर्षाले राहत महसुस गरे पनि बाढी, पहिरो र डुबानको समस्या आउन थालेको छ । रातिदेखि परेको अविरल वर्षाका कारण विराटनगरका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १२ स्थित बखरी, दरैया, मलानमालगायत क्षेत्र डुबान भएका हुन् । यस्तै, वर्षाका कारण बुटवल पनि जलमग्न भएको छ । वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । ​

डुबानको समस्या मात्रै होइन, केही ठाउँमा भौतिक र मानवीय क्षतिसमेत भएको विवरणहरू प्राप्त भएका छन् ।

पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

यसैगरी गएराति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ ।

घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।  पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

यस्तै, लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गएराति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए ।

मोरङमा पनि बाढी पहिरोले क्षति गरेको छ । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए ।

यसैगरी बढीले बगाउँदा सोही परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र  अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।

अविरल वर्षाले सडक भासिएपछि राजमार्ग भएर गुड्ने सवारी साधनसमेत प्रभावित भएका छन् ।

२ दिनअघिमात्रै पोखराकै जिरोकिलोमिटरमा पनि सडक भासिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित