ड्रोन आक्रमण :इजरायलमाथि यमनको हुथी समूह र इराकी लडाकूको संयुक्त
ड्रोन आक्रमण :इजरायलमाथि यमनको हुथी समूह र इराकी लडाकूको संयुक्त
    • बेल संचार

    • १३ असार २०८१, बिहीबार

काठमाडाैं

 साना– यमनको हुथी समूहले बुधबार इराकी लडाकूसँगको सहकार्यमा बन्दरगाह हाइफामा राखिएको इजरायली जहाजमा संयुक्त ड्रोन आक्रमण गरेको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले अल–मसिराह टेलिभिजन सन्देशमार्फत बिहीवार यसको जानकारी दिएका हुन् ।

‘इस्लामिक सैनिकसँगको सहकार्यमा इजरायली स्वामित्वको मालवाहक जहाज एमएससी मान्जानिलोलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको छ,’ उनले भने ।

सारियाले आक्रमणले पूर्ण सफलता हासिल गरेको पनि दाबी गरे ।

‘हामी प्यालेस्टिनी जनताको समर्थनमा इराकी लडाकूसँग यो संयुक्त सैन्य कारबाही जारी राख्नेछौं,’ उनले यस आक्रमणलाई इजरायल–प्यालेस्टाइन सङ्घर्षसँग जोड्दै भने ।

उनले प्यालेस्टाइनमा इजरायली आक्रमणको अन्त्य र गाजामा नाकाबन्दी हटाउन माग गरेका हुन् ।

इजरायली अधिकारीहरूले अहिलेसम्म हुथी आक्रमणका बारेमा कुनै टिप्पणी गरेका छैनन् ।

साथै संयुक्त राज्य सामुद्रिक व्यापार अपरेसनले बुधवार यमनको बन्दरगाह शहर एडेनको दक्षिणमा एउटा व्यापारी जहाजनजिकै पनि मिसाइल विस्फोट भएको जानकारी दिएको छ । रिपोर्टमा चालक दललाई कुनै चोटपटक नलागेको र जहाजले आफ्नो यात्रा जारी राखेको जनाइएकाे छ ।

नोभेम्बर २०२३ देखि हुथीहरूले गाजा द्वन्द्वमा प्यालेस्टिनी समर्थनको दाबी गर्दै ढुवानी जहाजहरूमा ड्रोन र मिसाइल आक्रमण गर्दै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित