काठमाडाैं |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सोमबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार दुई नेताबीच समसामयिक विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत शनिबार ओलीसँग भेटेका थिए । त्यसयता नेताहरूबीचको भेटवार्ता र छलफल बाक्लिएको छ ।
देउवासँग लामो छलफल गरेका ओलीलाई प्रचण्डले के–के कुराकानी भयो भनेर सोधेका थिए । जवाफमा ओलीले केही सिरियस छलफल पनि भएको बताएका थिए ।
यसपछि झन् सत्ता समीकरण दलबीच दुरी बढ्ने स्थिति देखिएको हो । आइतबार ओलीसँग छलफललगत्तै सरकारमै रहेको रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेसँग पनि उनीहरूले छलफल गरेका थिए ।
पछिल्लो समय बजेट निर्माण प्रक्रिया, विभिन्न नियुक्ति र समीकरणमा रहेका नेताहरूको अभिव्यक्तिका कारण पनि सरकारमा रहेका दलबीच विवाद देखिन थालेका छन् । ओलीले खुलेरै बजेटमा माओवादी झल्को देखिएको भन्दै पटकपटक आपत्ति जनाएका थिए ।
यतिमात्रै होइन ओलीले चाहेको राजनीतिक नियुक्तिमा पनि प्रधानमन्त्रीले आलटाल गरेकोमा ओली असन्तुष्ट रहँदै आएका छन् ।
आफ्नो भ्रमणअघि ओलीकै दबाबमा भारतीय राजदूत फिर्ता बोलाउन बाध्य भएको प्रधानमन्त्रीको बुझाइ रहेको छ ।
कांग्रेसले पनि विकसित घटनाक्रमको विषयमा छलफल गर्न आजै पदाधिकारी, पूर्वपदाधिकारी र सिनियर नेताको बैठक बोलाएको छ ।