दाङ ।
दाङ तुलसीपुर उपमहानगरपालिका–९ का हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उनको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास काट्नेजस्ता काममै बित्ने गर्छ ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले चलाइरहेको कानुनी साक्षरतासम्बन्धी कक्षामा सहभागी हुन थालेपछि भने जैसीले धेरै कुरा बुझ्न थालेकी छन् । न्यायका लागि आवाज उठाउनुपर्ने रैछ भन्ने थाहा पाउन थालेकी छन् ।
‘हामी सधैं चुलोचौकोमै सीमित भयौँ, तर, अब यसरी सीमित हुने छैनौँ’, जैसीले भनिन्, ‘गाउँमा कसैलाई अप्ठेरो परेपछि पनि न्यायिक निकायमा गएर न्यायकालागि आवाज उठाउने छौँ ।’
त्यस्तै तुलसीपुर–७ का टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जान सक्ने भएको बताउँछिन् । आँखै अगाडि महिला हिंसा, घरेलु हिंसा हुने गरेको भए पनि सहेर बस्नुपर्ने अवस्था रहेको जनाउँदै अब त्यसो हुन नदिने बताइन् । भन्छिन्, ‘अब हामीले त्यसको प्रतिवाद गर्न सक्ने भएका छौँ ।’