पर्यटनमन्त्री तामाङको आग्रह ,वायुसेवा निगमको गरिमा रक्षा गर्न
पर्यटनमन्त्री तामाङको आग्रह ,वायुसेवा निगमको गरिमा रक्षा गर्न
    • बेल संचार

    • १७ असार २०८१, सोमबार

काठमाडाैं |

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन् ।

निगमको ६६औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्‍याउन नहुने उनको भनाइ थियो ।

‘वायुसेवा निगम लामो इतिहास पार गर्दै आज ६७औं वर्षमा प्रवेश गर्दैछ । यसले इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । अझै यसको अभिवृद्धि गर्न ठोस् योजना बनाउन आवश्यक छ,’ पर्यटनमन्त्री तामाङले भने ।

वार्षिकोत्सवको अवसरमा आज बिहान प्रभातफेरी गरिएको थियो ।

निगमको नयाँ सडकस्थित केन्द्रीय कार्यालयबाट शुरू भएको प्रभातफेरी नयाँ सडक, बसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो ।

विसं २०१५ असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो ।

निगमले हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।

निगमले २ थान वाइड बडी ‘ए’ ३३० र २ थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

आन्तरिकतर्फ दुर्गम भेगका २२ भन्दा बढी गन्तव्यमा निगमले सेवा दिइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित