महिलाका क्षेत्रमा भएका राम्रा अन्तर्राष्ट्रिय अभ्यासहरूबाट नेपालमा प्रभाव पार्नेगरी काम गर्न मन्त्री चौधरीको आग्रह
महिलाका क्षेत्रमा भएका राम्रा अन्तर्राष्ट्रिय अभ्यासहरूबाट नेपालमा प्रभाव पार्नेगरी काम गर्न मन्त्री चौधरीको आग्रह
    • Bell Sanchar

    • १८ असार २०८१, सोमबार

काठमाडौँ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गर्नुभएको छ ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा निर्वाचित नेपालकी वन्दना राणालाई आज मन्त्रालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

‘महिला अधिकारका पक्षमा नेपालमा धेरै राम्रा प्रयासहरू भएका छन् । तर अझै पनि हामीले थुप्रै कामहरू गर्न बाँकी छ । त्यसका निम्ति हामी सबैको एकीकृत प्रयत्न हुन जरुरी छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘तपाईँले अन्तर्राष्ट्रिय रूपमा नेपालको तर्फबाट राम्रो काम गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय रूपमा भएका राम्रा प्रयासहरूले नेपालमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न अनुरोध गर्दछु ।’

मन्त्री चौधरीले अझै पनि महिलालाई हेप्ने, कमजोर ठान्ने मानसिकता रहेको भन्दै ती सबै गलत कार्यको अन्त्यका निम्ति अझै काम गर्न आवश्यक रहेको बताउनुभयो । पोलिसि मेकरबाटै अहिले पनि समस्या रहेको उहाँको भनाइ थियो ।

उहाँले महिला अधिकार तथा संरक्षणका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी ल्याउनका निम्ति भूमिका खेल्न सकेन आग्रह गर्नुभयो । मन्त्री चौधरीले भन्नुभयो, ‘हामी महिलाका क्षेत्रमा थुप्रै उपलब्धिहरू हासिल गरेका छौँ । तर अझै पनि हामीले थुप्रै कामहरू गर्न बाँकी नै छन् । खासगरी संविधान, ऐन, कानूनले गरेका व्यवस्थाहरू कार्यान्वयन गर्न बाँकी छ । लिस्ट अफ इश्युहरू धेरै छन् । त्यसलाई समाधान गर्नका निम्ति हामीले काम गर्न आवश्यक छ ।’

मन्त्री चौधरीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने दोस्रो तहका महिला नेतृत्व उत्पादन गर्नतिर लाग्न समेत राणालाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा बोल्दै सिड कमिटीको सदस्य वन्दना राणाले लैङ्गिक समानताको सबैभन्दा ठुलो अड्चन विद्यमान गलत मानसिकता रहेको बताउनुभयो । अझै पनि महिलालाई विभिन्न उपमा दिएर कमजोर बनाउने प्रवृत्ति रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो । नेपालको तर्फबाट आफू सिड कमिटी सदस्यमा तेस्रो कार्यकालका निम्ति निर्वाचित भएको भन्दै उहाँले यसपटक आफूले अध्यक्षका निम्ति तयारी गरेको समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव दिनेश भट्टराईले मन्त्रालय अन्तर्गतका विभाग र महिला विकास कार्यालयहरू खारेज हुँदा मन्त्रालयका कार्यक्रम सम्पादन गर्न प्रदेश तथा स्थानीय तहमा निर्भर हुनुपर्दा थुप्रै कठिनाइ झेल्दै आइरहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले गर्नुभएको थियो ।

सिड कमिटीमा निर्वाचित राणा यसअघि दुई कार्यकाल सदस्य निर्वाचित भइसकेकी छिन् । अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै तेस्रोपटक विजयी भएकी हुन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।

साताकाे चर्चित
सम्बन्धित