दुई ठूला दल मिले मार्ग प्रशस्त गर्नुस् कांग्रेसले प्रचण्डलाई भन्यो
दुई ठूला दल मिले मार्ग प्रशस्त गर्नुस् कांग्रेसले प्रचण्डलाई भन्यो
    • बेल संचार

    • १९ असार २०८१, बुधबार

काठमाडाैं

नेपाली कांग्रेसले दुई ठूला दल मिलेर सरकार बनाउन सहमति भएको भन्दै मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवाको बूढानीलककण्ठस्थित निवासमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । जसमा पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओली र बाँकी समयमा कांग्रेस सभापतिले चुनावी सरकारको नेतृत्व गर्ने समझदारी गरेका थिए ।

कांग्रेसले जस्तै एमालेले पनि मंगलबार बुधबारसम्म मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । बुधबार साँझसम्म प्रधानमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा एमाले छ ।

‘सबैभन्दा ठूलो दल कांग्रेस र एमालेले सरकार चलाउने भनेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ,’ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘अरु दलको समेत समर्थन घोषणा भएको छ । नयाँ समीकरण बन्न लागेकाले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

देशलाई स्थायित्व दिने र आर्थिक समृद्धिमा अघि बढ्न दुई ठूला दल मिल्नुपरेको डा. महतको भनाइ थियो ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको भन्दै महतले यसलाई कार्यसम्पादन समितिले पारित गरेको जानकारी दिए ।

‘सरकारको नेतृत्व शुरूमा एमाले अध्यक्ष शर्मा केपी ओलीले गर्नुहुन्छ । त्यसपछि निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुनेछ । यो समझदारीलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको छ,’ उनले भने ।

संविधान कार्यान्वयनको अनुभवबाट कतिपय विषय शंसोधन र सुधार गर्ने आवश्यकता भएकोले दलसँग संवाद गरेर अगाडि बढ्ने पनि उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित