काठमाडाैं |
देइर एल–बाराह–गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध शुरू भएयता प्यालेस्टाइनी (गाजा) क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएको पाइएको छ ।
सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको निकै महिना भइसक्यो ।
संक्रमणका कारण उनलाई सुत्न समस्या भइरहेको छ । तर द्वन्द्वरत गाजाको ‘टेन्ट शहर’मा एलवान र उनका सात बच्चा आश्रय लिइरहेका छन् । तर उनीहरू सुत्न सकिरहेका छैनन् ।
मेरो छोरो रातभरि निदाउन सक्दैन, किनभने उसले छालासम्बन्धी रोगका कारण आफ्नो शरीरलाई स्थिर राख्न सक्दैन,’ चिन्तित आमा एलवानले भनिन् ।
बालकको पैताला र खुट्टाको माथिल्लो भागमा सेता र राता धब्बाहरू छन् । उनी छालाको सङ्क्रमण, ठेउला, लुतो, घमौरा, जुकालगायत अन्य दुर्बल समस्याबाट पीडित धेरै गाजाबासीमध्ये एक हुन् ।
‘हामी भुइँमा वा बालुवामा सुत्छौं, जहाँ कीराहरू बाहिर निस्कन्छन्,’ एलवानले भनिन्, ‘उनको परिवार मध्य गाजा शहर देइर अल–बलाहस्थित समुद्रको नजिक बलौटे टुक्रामा बस्ने हजारौँ विस्थापितमध्ये एक हो ।
एलवानको विचारमा सङ्क्रमण अवश्यम्भावी छ । उनले भनिन्, ‘हामी आफ्ना छोराछोरीलाई पहिलेजस्तो नुहाइदिन सक्दैनौं । त्यहाँ हात, खुट्टा र शरीर धुन वा सफा गर्नका लागि चाहिने कुनै उत्पादनहरू छैनन् । यहाँ केही पनि छैन ।’
आमाबाबुले आफ्ना छोराछोरीलाई भूमध्यसागरमा नुहाउन भन्थे । तर युद्धले आधारभूत सुविधाहरू ध्वस्त पार्दा उत्पन्न भएको प्रदूषणले रोगको जोखिम बढाएपछि समुद्रमा नुहाउने सम्भावना पनि छैन । सबै फोहोर र प्रदूषित बनेको छ ।
‘समुद्र सबै ढल हो । उनीहरूले फोहोर (दिसा) र बच्चाको दिसा सफा गरेका टालाहरू पनि समुद्रमा फ्याँक्छन्,’ उनले भनिन्, ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजामा युद्ध शुरू भएयता लुतो र जुकाका ९६ हजार ४१७ र ठेउलाका नौ हजार २७४ राेगी भेटिएका छन् । यस्तै छालामा विविध कारण भएका घाउ र त्यसमा देखा परेका सङ्क्रमणको भयावह अवस्थासम्बन्धी ६० हजार १३० र ‘इम्पेटिगो’का १० हजार ३८ समस्या भेटिएका छन् ।
देइर अल–बलाह शिविरमा अस्थायी क्लिनिक सञ्चालन गर्ने फार्मासिस्ट सामी हमिदका अनुसार विशेष गरी तटीय प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको महामारी नै छ ।
क्लिनिकमा दुईजना किशोरले आफ्ना हात, खुट्टा, ढाड र पेटमा दर्जनौं ठेउलाका दाग, फोका, लुतो र यसले बनाएका घाउहरू देखाए ।
औषधिको अभावमा ४३ वर्षीय हमिदले केटाहरूको छालामा ‘क्यालामाइन लोसन’ दल्दै उपचार गरिदिए । यो उक्त समस्या निको पार्नका लागि नभई शीतलताका लागि गरिएको उपचार थियो । अन्य औषधि नभएपछि खास उपचार गर्न सम्भव नभएको उनले बताए ।
‘तातो मौसम र सफा पानीको कमीले बालबालिकाको छालामा सङ्क्रमण फैलिने गरेको छ,’ उनले भने ।
गाजाका डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)का मेडिकल कोअर्डिनेटर मोहम्मद अबु मुगाइसिबले एएफपीसँग भने, ‘बालबालिका भनेका खेलप्रिय र अन्जान हुन्छन् । उनीहरू बाहिर खेल्छन्, कुनै पनि चीज छुन्छन्, कतिपय खानेकुरा नधोइकन खान्छन् ।’
अबु मुगैसीबका अनुसार तातो मौसमले पसिना र फोहोर जम्मा हुने सम्भावना बढी हुन्छ जसले लुतो, एलर्जी र छालाजन्य अन्य रोगको सङ्क्रमणको सम्भावना लाई बढाउँछ ।
उनले भने, ‘मानिसहरू अहिले घरमा बसिरहेका छैनन्, उनीहरू बसेका स्थानमा सरसफाइको उचित व्यवस्था छैन ।’
एमएसएफ चिकित्सकहरूले यस्तो बसाइका कारण लामखुट्टे तथा अन्य किराहरूको टोकाइबाट हुने ‘लेशमेनियासिस’को सम्भावना बढ्छ । भद्रगोल बसाइमा यसले सबैभन्दा खतरनाक र घातक छालाजन्य समस्या ल्याउन सक्छ ।
उनले भने, ‘गाजाका बालबालिकाहरू पहिलेदेखि नै रोगको उच्च जोखिममा रहेका छन् । कुपोषणका कारण उनीहरूको प्रतिरक्षा प्रणालीमा सम्झौता भएको छ ।’
फार्मेसिस्ट हमिदका अनुसार उनको टोलीले हालै एउटा अस्थायी विद्यालयको भ्रमण गरेको थियो, जहाँ १५० मध्ये २४ जना विद्यार्थीमा खटिराको समस्या थियो ।
‘तीमध्ये केहीलाई छालाको सङ्क्रमण भएको छ र दुर्भाग्यवश यी सङ्क्रमणहरू उनीहरूमा फैलिरहेका छन्,’ एक अस्थायी टेन्ट विद्यालयका शिक्षक ओला अल–कुलाले एएफपीसँग बताए । प्रदूषणका कारण अन्य रोगहरू पनि शिविरमा फैलिरहेको छ ।
हमिदले भने, ‘यहाँका शौचालयहरू पुराना छन्, टेन्टहरूको बीचमा फोहोर बगिरहेको छ । जसले अन्ततः महामारी फैलाउन सहयोग गर्छ ।’
विश्व स्वास्थ्य सङ्गठनका अनुसार झाडापखालाका ४ लाख ८५ हजार बिरामी भेटिएका छन् ।
संयुक्त राष्ट्रसङ्घले मंगलबार गाजामा करिब २४ लाख जनसङ्ख्यामध्ये १९ लाख मानिस विस्थापित भएको जनाएको छ ।
अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट युद्ध शुरू भएको र यसको बदलामा इजरायलले गाजामा गरेको सैन्य कारबाहीका कारण गाजामा छालाजन्य रोगबाहेक अन्य सङ्क्रमणजन्य समस्या पनि विकराल अवस्थामा रहेको विवरणहरू सार्वजनिक भइरहेका छन् ।