ज्यान जानेको सङ्ख्या ३८ पुग्यो भारी वर्षापछि आसाममा बाढी
ज्यान जानेको सङ्ख्या ३८ पुग्यो भारी वर्षापछि आसाममा बाढी
    • Bell Sanchar

    • १९ असार २०८१, बुधबार

गुवाहाटी

भारी वर्षापछि भारतकाे आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ ।  विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)को बाढी रिपोर्ट अनुसार तीनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको छ ।

मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले  राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ ।

प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ । जहाँ लगभग दुई लाख ८७ हजार मानिसले शरण लिइरहेका छन् ।

बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।

स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडीआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू  ठाउँ -ठाउँमा उद्धार कार्यमा संलग्न छन्  । मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग दुई हजार ९०० जनालाई उद्धार गरिएको छ ।

सरकारले मङ्गलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ ।

एएसडीएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ ।

मङ्गलबार बाढीले ७४ वटा सडक, ६ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पुर्याएको छ भने पाँच वटा तटबन्धलाई तोडेको छ ।

साताकाे चर्चित
सम्बन्धित