बागलुङ ताराज्योति प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेयो
बागलुङ ताराज्योति प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेयो
    • Bell Sanchar

    • २१ असार २०८१, शुक्रबार

बाग्लुङ। 

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीस्थित ताराज्योति प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल विद्यालयमा दुईजना छात्रमात्र छन् ।
उनीहरूमध्ये एकजना कक्षा १ र अर्का ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् ।

स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेको प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिक सत्रमा दुई जनामा सीमित भएको उनले बताए ।उनका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं २०७९ मा त्यो सङ्ख्या १० जनामा झरेको थियो । विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एकजना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ ।

३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको सङ्ख्या निकै कम भएका छन् ।

धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारी बताउँछन् । गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय छ । स्कुलको गाडी घर नजिकै लिन आउँदा धेरै विद्यार्थी त्यता जान थालेको उनी बताउँछन् । ‘पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन् ।   भएका पनि सहरबजार जाने प्रचलन बढेको छ । हामी त जागिर खान आइयो विद्यार्थी नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ,’ उनले भने, ‘पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ । तर, विद्यार्थी छैनन् ।’

गाउँका स्थानीय बसाइँसराइ गरी चितवन र रूपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरे पनि धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताए ।

नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति रहेको उनले जानकारी दिए ।

जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित