सुरक्षित प्रसूतिका लागि थप प्रयास आवश्यक ,नेपालमा प्रसव सेवाहरूको चुनौती
सुरक्षित प्रसूतिका लागि थप प्रयास आवश्यक ,नेपालमा प्रसव सेवाहरूको चुनौती
    • Bell Sanchar

    • २१ असार २०८१, शुक्रबार
काठमाडौं

डेलिभरी वा प्रसव भनेको पाठेघरबाट परिपक्व शिशुको निष्कासन हुनु हो । प्राकृतिक किसिमले आमाको योनिबाट सामान्य रूपमै बच्चाको जन्म हुनुलाई ‘नर्मल डेलिभरी’ भन्छौँ । विज्ञानको विकाससँगै कतिपय अवस्थामा भ्याक्युम, फोरसेप डेलिभरी र सी–सेक्सन आदि विधि समेत आमाको पाठेघरबाट बच्चा निकाल्ने वा जन्माइने गरिन्छ ।

नर्मल (सामान्य) डेलिभरी एक प्रसव प्रक्रिया नै हो, जसमा कुनै पनि अप्रेसन अथवा औजारहरूको प्रयोगबिना सामान्य तरिकाले बच्चाको जन्म हुन्छ । यसरी बच्चाको जन्म हुँदा आमा तथा बच्चा दुवैका लागि हर्मोनल र शारीरिक फाइदा पुग्छ ।

प्रसवपछि आवश्यक पर्ने आमा र बच्चाबिचको प्रारम्भिक बन्धनको प्रक्रियालाई बढाउन छालादेखि छाला सम्पर्कको मौका यसले सहज रूपमा प्रदान गर्दछ । यद्यपि सामान्य डेलिभरीमा लामो समयसम्म प्रसव पीडा हुने, योनि वा ‘पेरिनियल’ क्षेत्रमा घाउ हुनेजस्ता केही सम्भावित जटिलता हुने गर्छन् । त्यसैले ‘एपिड्युरल’ वा ‘एनाल्जेसिक’ जस्ता दुखाइ व्यवस्थापन विधिहरूको प्रयोग गर्नुपर्छ । सामान्य डेलिभरीलाई सामान्यतया सुरक्षित मानिए पनि लामो समयसम्म प्रसव पीडा, ‘फिटल डिस्ट्रेस’ (भ्रूण संकट) वा अत्यधिक रक्तश्राव लगायत समस्याका लागि चिकित्सकको हस्तक्षेप आवश्यक पर्छ ।

२) भ्याक्युम एक्स्ट्राक्सन र फोरसेप डेलिभरी 

प्रसवमा ढिलाइ वा आमा वा बच्चाको स्वास्थ्यमा चिन्ता उत्पन्न भएको अवस्थामा ‘भ्याक्युम एक्स्ट्राक्सन’ र ‘फोरसेप डेलिभरी’ चिकित्सकीय प्रक्रिया आवश्यक पर्छ ।

‘भ्याक्युम एक्स्ट्राक्सन’मा बच्चाको टाउकोमा ‘सक्सन कप’ जोडिन्छ, जसले बच्चाको डेलिभरीमा सहयोग गर्दछ भने ‘फोरसेप डेलिभरी’मा विशेष उपकरणहरूको प्रयोग हुन्छ, जसले बच्चालाई योनिमार्फत निकाल्न गर्न मद्दत गर्छन्, जसले बच्चा तथा आमाको जीवन बचाउन मद्दत पुग्छ ।

‘सिजेरियन सेक्सन’को तुलनामा यी प्रक्रियामा छोटो समय लाग्नुका साथै कम जटिलता हुन्छन् र डेलिभरीपछि रिकभरी समय पनि छोटो हुन्छ । यद्यपि भ्याक्युम वा फोरसेप डेलिभरीको प्रयोगले बच्चाको टाउको वा अनुहारमा चोट वा दाग लाग्ने तथा आमा वा बच्चालाई आघात पुग्ने हुन सक्छ ।

सामान्य डेलिभरिप्रति मानिसको चासो बढाउन विभिन्न जनचेतना अभिवृद्धिमूलक अभियानहरू तथा नेपालका स्वास्थ्य संस्थाहरूका डेलिभरी सम्बन्धी नीति परिवर्तनले महत्त्वपूर्ण योगदान गरेका छन् ।

डेलिभरीको समयमा उपकरणहरूको अनुचित प्रयोग वा अत्यधिक बलले बच्चाको ‘क्रेनियम’ (शिर) भाँचिने तथा मस्तिष्क वा स्नायुमा क्षति पुग्नेजस्ता जटिलता निम्त्याउन सक्छन् । गर्भमा शिशुको पोजिसन प्रतिकूल रहेको वा उपकरणको प्रयोगमा स्पष्ट विरोधाभासहरू भएको अवस्थामा भ्याक्युम र फोरसेप डेलिभरीको प्रयोग गर्न सकिँदैन ।

३) सिजेरियन सेक्सन (सी–सेक्सन)

सी–सेक्सन सामान्य रूपमा एक चिकित्सकीय अपरेसन हो, जसमा आमाको पेटको छालामा ‘इन्सिजन’ (छेद) पारेर बच्चालाई आमाको पाठेघरमार्फत निकालिन्छ । सी–सेक्सन या त योजनाबद्ध (वैकल्पिक) हुन सक्छ वा प्रसवको समयमा उत्पन्न हुने भ्रूण संकट, ‘सेफालोपेल्भिक डिस्प्रोेपोर्सन’ (योनिको मुखभन्दा बच्चाको टाउको ठुलो हुने) तथा डेलिभरी समयमा आमा र नवजात शिशु दुवैका लागि जोखिम पु¥याउन सक्नेजस्ता आपतकालीन अवस्थामा गरिन्छ ।

नेपालमा हुने कुल डेलिभरीको ६ देखि ८ प्रतिशत केसमा सी–सेक्सन अर्थात् अप्रेसन गरी बच्चा जन्माउने गरेको पाइन्छ । सी–सेक्सन एक अप्रेसन प्रक्रिया भएका कारण संक्रमण, अत्यधिक रक्तस्राव र ‘एनेस्थेटिक एजेन्ट’का कारणले देखिने प्रतिक्रियाजस्ता केही सामान्य र महत्त्वपूर्ण जोखिम आउन सक्छन् ।

साथै यो प्रक्रियामा सामान्य वा भ्याक्युम र फोरसेप डेलिभरीको तुलनामा आमा सामान्य अवस्थामा आउन वा घाउ निको हुन केही समय लाग्छ । यसबाहेक धेरैपटक सिजेरियन सेक्सनमार्फत डेलिभरी हुँदा पाठेघर फुट्ने र ‘प्लेसेन्टा प्रिभिया’जस्ता जटिलताका कारणले पछिको गर्भावस्थालाई समेत जोखिमपूर्ण बनाउन सक्छ ।

हालको प्रवृत्ति र ग्लोबल डाटा

विगतका दशकमा सिजेरियन सेक्सनको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । सन् २००० देखि २०१५ सम्म १५ वर्षको अवधिमा विश्वव्यापी रूपमा औसत ‘सिजेरियन सेक्सन’ दर १२.१ प्रतिशतबाट २१.१ प्रतिशतमा बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विभिन्न क्षेत्र र देशमा गरेको अनुसन्धान अनुसार सिजेरियन सेक्सनको संख्या विगतको तुलनामा निकै बढेको छ ।

कहिलेकाहीँ आमा र शिशुको जीवन बचाउन सिजेरियन डेलिभरी आवश्यक पर्छ तर जुन रूपमा गर्भावस्थामा ‘मेडिकलाइजेसन’  (चिकित्सकीकरण)को अनावश्यक हस्तक्षेपहरू बढ्दै गएको छ, यसले सी–सेक्सन प्रक्रियाको पनि दुरुपयोग बढेको छ र सामान्य जन्मका लागि प्रशंसा तथा समर्थन बटुल्दै गएको छ । प्रसवको समयमा हौसला प्रदान गर्नका लागि डौला र औषधीरहित दुखाइ नियन्त्रणका विधिहरू, सहज योनि प्रसवको प्रवद्र्धन र चिकित्सा हस्तक्षेप घटाउने उपायलाई थप प्रोत्साहन दिन थालिएको छ ।

pdf dr sandesh

स्रोत : राप्ती प्रादेशिक अस्पताल

भ्याक्युम र फोरसेप डेलिभरी विधिले सामान्य डेलिभरी र सिजेरियन सेक्सनको बिचको अन्तरलाई पूरा गर्दछ । त्यसैले अधिकांश चिकित्सकले प्रसूतिको वर्तमान अभ्यासमा यस प्रक्रियाले खेलेको भूमिकाको प्रशंसा गरेको पाइन्छ । नेपालको मातृशिशु स्वास्थ्य सेवाको अवस्थामा सुधार आए पनि विभिन्न स्थानीय कारणले यसलाई अझै चुनौतीपूर्ण बनाएका छन् ।

सामान्य डेलिभरीको संख्यामा वर्षैपिच्छे हँुदै आएको भारी कमीले डरलाग्दो प्रवृत्ति सिर्जना गरेको छ । प्रसवावस्थाको विभिन्न चरणमा प्रदान गरिने स्वास्थ्य सेवाको संख्यामा गिरावट, स्थानीय तहहरूमा उपलब्ध सेवाहरूको गुणस्तरमा ह्रास, सामान्य डेलिभरीमा अवरोध आदिका कारणले शिशुको प्राकृतिक जन्मदर घटेको छ ।

सामान्य डेलिभरीको ठाउँमा भ्याक्युम र फोरसेप विधि अथवा सिजेरियन सेक्सनको प्रयोगप्रति अस्पतालका नीतिहरू बढी उन्मुख छन् कि छैनन् भन्नेबारे थप अनुसन्धान पनि गरिनुपर्छ  ।

स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा दक्ष र अनुभवी स्वास्थ्यकर्मीको अनुपस्थिति, चिकित्सकहरू बिचमा प्रसूति प्रक्रियासम्बन्धी मतभिन्नता तथा स्वास्थ्य सामग्रीहरूको उपलब्धताका कारण भ्याक्युम र फोरसेप डेलिभरीको संख्या वृद्धि हुन थालेको छ । जस कारण सामान्य डेलिभरीको संख्यामा कमी आइरहेको छ ।

विगत केही वर्षमा जनमानसमा प्राकृतिक जन्मप्रतिको बढ्दो चासो र यसका विभिन्न फाइदाका कारण सिजेरियन सेक्सनको संख्यामा उल्लेखनीय गिरावट आएको देखिन्छ । सामान्य डेलिभरिप्रति मानिसको चासो बढाउन विभिन्न जनचेतना अभिवृद्धिमूलक अभियानहरू तथा नेपालका स्वास्थ्य संस्थाहरूका डेलिभरी सम्बन्धी नीति परिवर्तनले महत्त्वपूर्ण योगदान गरेका छन् । विभिन्न अस्पतालहरूमा पर्याप्त स्रोत–साधनको कमीले अझै पनि ‘सिजेरियन सेक्सन’जस्ता चिकित्सा विधि जनताको पहुँचबाट वञ्चित छन्, जुन नेपाली जनताको लागि निकै ठुलो दुर्भाग्य हो ।

हरेक वर्ष सुरक्षित प्रसूति सेवाको उपलब्धताको कमीले हजारौँ आमा र शिशुहरूले ज्यान गुमाउँदै आएको खबर सुनिन्छ । यस विषयमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उचित समाधान भने खोजेको देखिँदैन । नेपालको सन्दर्भमा प्राकृतिक जन्मका लागि बिरामीको प्राथमिकतामा कसरी विकास भइरहेको छ भनी थप अनुसन्धान गर्न पनि आवश्यक छ ।

सन् २०२३ मा नेपालको जन्मदर १८.३७७ प्रतिहजार व्यक्ति थियो भने सन् २०२४ मा १७.८६८ प्रतिहजार व्यक्ति रहेको छ । यो एक वर्षमा नेपालको जन्मदरमा २.७७०५ ले गिरावट आएको देखिन्छ । साथै माथि प्रस्तुत तथ्याङ्कलाई गम्भीर रूपमा विश्लेषण गर्दा राप्ती प्रादेशिक अस्पतालमा पनि कुल प्रसूति संख्या घटेको देखिन्छ ।

(डा. लम्साल राप्ती प्रादेशिक अस्पतालमा कार्यरत छन् ।)

साताकाे चर्चित
सम्बन्धित