काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको एक अभिव्यक्ति अहिले भाइरल बनिरहेको छ ।
त्यसबेला अध्यक्ष ओलीले संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत सरकार बन्ने विषय च्याप्टर क्लोज हुने बताएका थिए ।
अहिले उनै ओली नेपाली कांग्रेससँगको सहकार्यमा संविधानको धारा ७६ (२) अन्तर्गत प्रधानमन्त्री बन्ने तयारीमा लागेका छन् ।
माओवादी सहकार्य छाडेर कांग्रेससँगको सहकार्यमा ओली प्रधानमन्त्री बन्ने र प्रधानमन्त्री प्रचण्ड संसदमा विश्वासको मत लिने तयारीमा छन् । यहीबेला अध्यक्ष ओलीको त्यो पुरानो बोलीको भिडियो भाइरल बनेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाए धारा ७६ को उपधारा २ कै अर्को सरकार गठन हुने कि उपधारा ३ मा जाने भन्ने बहस जारी छ । यद्यपि कांग्रेस र एमालेसहित केही नेताहरूले संविधानको धारा ७६ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठन हुने दाबी गरिरहेका छन् । तर माओवादी लगायत केही कानुन व्यवसायीहरूले उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।
नयाँ सरकार गठनबारे राजनीतिक पार्टीका नेता, कानुनविद्, र सर्वसाधारण जनता समेत दुई कित्तामा उभिएका बेला ओलीले चार महिना अघिमात्र ७६ (२) को सरकार विश्वासको मत लिन असफल भए उपधारा ३ मा जाने प्रस्ट मत राखेका थिए ।
गत फागुनमा माओवादीसँग सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको सन्दर्भमा अध्यक्ष ओलीको सो अभिव्यक्ति दिएका थिए ।
‘उहाँमाथि हामीले विश्वास छैन भन्दा, भोलि यदि उहाँको प्रस्ताव असफल भयो भने ७६ (२) को मिलिजुली सरकारको च्याप्टर क्लोज हुन्छ र, असफल हुनेबित्तिक्कै राष्ट्रपतिले प्रमुख पार्टीको हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ’, गत फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने अघिल्लो दिन फागुन २९ गते पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए ।
त्यसरी बन्ने अल्पमतको सरकार दृष्टिकोण र सङ्कल्पविहीन हुने भएकाले त्यसलाई रोक्न पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने ओलीको तर्क थियो । तर आज ओलीको बोली फेरिएको छ । यदि ओलीले त्यसबेला दिएको अभिव्यक्तिलाई मान्ने हो भने असार २८ गते प्रचण्डले विश्वासको मत नपाएको खण्डमा ओली नभएर ठुलो दलको हैसियतले देउवा प्रधानमन्त्री हुनेछन् । तर आफू अनुकूल संविधान र कानुनको व्याख्या गर्ने ओली प्रचण्डले विश्वासको मत नपाएपनि आफू संविधानको उपधारा २ अन्तर्गत नै प्रधानमन्त्री बन्ने तयारीमा लागेर आफ्नै अभिव्यक्तिविरुद्ध अघि बढ्न लागेका छन् ।
के भनेका थिए ओलीले ?
उहाँले भोली प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर माग्नुहुनेछ । भोलि यदि उहाँको प्रस्ताव असफल भयो
भने ७६ (२) को अर्थात् संयुक्त सरकार, मिलीजुली सरकारको च्याप्टर क्लोज हुन्छ । र, प्रस्ताव असफल हुनेवित्तिकै प्रमुख पार्टीको नेताको हिसाबले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ । त्यो सरकार अल्पमतको अयोग्य,दृष्टिकोणविहीन,परमुखापेक्षी, स्वाभिमानहीन, भवितव्यले आइलागेको, कुनै सङ्कल्प र केही नभएको बन्छ । त्यस्तो बन्न दिनुहुँदैन । त्यस परिस्थितिबाट देशलाई जोगाउनका लागि, अस्थिरतातर्फ जानबाट देशलाई जोगाउनका लागि र भिजनहीन, कमिटमेन्टहीन केही नभएको । अर्जुनले चराको आँखामात्र देखेजस्तो । सरकार मात्रै देख्ने । केही थाहा नपाउने त्यस्तो पार्टीका नेताको नेतृत्वमा सरकार बन्यो भने देश कता जान्छ ? तसर्थ हामी दिल खोलेर, विना हिचकिचाहट, मनको कुनामा कतै नराखेर सकारात्मक कदमले विश्वासको मत दिन्छौँ ।