कोशी प्रदेशमा हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते
कोशी प्रदेशमा हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते
    • बेल संचार

    • ४ श्रावण २०८१, शुक्रबार

विराटनगर ।

गत आर्थिक वर्ष (आव)मा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए ।

उनले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताए ।

‘झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दा बढी हात्तीको समूहले ठूलो धनजनको क्षति गरेको थियो ।

सोही अवधिमा झापामा चार वटा र मोरङमा एउटा हात्ती मरेका थिए,’ प्रवक्ता दाहालले भने ।

उनले एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा एक, मोरङमा तीन, सुनसरीमा पाँच र उदयपुरमा दुई गरी २५ जना घाइते भएको जानकारी दिए ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई सरकारले रु १० लाख क्षतिपूर्तिस्वरूप प्रदान गर्दै आएको छ ।

घाइतेको उपचारका लागि रु २५ हजारदेखि रु एक लाखसम्म उपलब्ध गराउँदै आइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित