काठमाडाैं ।
नेपालको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीलाई ४३ बुँदे सुझाव दिएको छ ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएका हुन् । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको हो ।’करिब चार वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ ।
कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शृङ्खलामा पारेको असर एवं पछिल्लो तीन वर्षदेखिको निरन्तर सङ्कुचित नीतिले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ’, चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष अग्रवालले भेटका क्रममा चालू आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने सुझाव दिए ।
उनले आर्थिक गतिविधिमा आएको सङ्कुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानी आकर्षण नभएकोप्रति उनले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।