नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ ।
सम्झौतासँगै अब एनसेलका बीटूबी तथा बीटूसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवेमार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् ।
नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् ।
नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नबिल बैंकका सीईओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्थाबीचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए ।
एनसेलका सीईओ केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए ।
अब एनसेलका ग्राहकले नबिलको पीओएस, पेमेन्ट गेटवे र एनबैंक गरी तीन वटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको शुरूआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ ।
बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।