देवघाट-२ बेसारघारीमा सौर्य ऊर्जाका माध्यमबाट पानी लिफ्टिङ गरी सिँचाइको व्यवस्था गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर जगन्नाथ चापागाईंले जानकारी दिए । उनका अनुसार रु एक करोड २१ लाखको लागतमा बेसारघारी लिफ्टिङ योजना निर्माण गरिएको हो ।
बन्दीपुर गाउँपालिका-३ मा कोल्पाटा सिँचाइ आयोजनामार्फत १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याइएको छ । रु ५१ लाख ८७ हजारको लागतमा उक्त आयोजना निर्माण भएको सूचना अधिकारी चापागाईंले बताए ।
व्यास नगरपालिका-६ चापाटारस्थित याङ्दी खोला सिँचाइ योजनामार्फत रु ५७ लाख २२ हजारको लागतमा सिँचाइ सुविधा पुर्याइएको छ । यसले १५ हेक्टर क्षेत्रफलमध्ये १२ हेक्टरमा सिँचाइ हुने उनले जानकारी दिए ।
भानु नगरपालिका–१० स्थित पदेलफाँट लुइँटेलफाँट सिँचाइ आयोजना निर्माणाधीन छ । यसले १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने कार्यालयले जनाएको छ । उक्त आयोजना रु ६५ लाख ८० हजारमा निर्माण भइरहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा शुक्लागण्डकी नगरपालिका-१० स्थित लोग्दीटारमा स्थानीय क्याङ्दी खोलाबाट लिफ्ट प्रविधिबाट सिँचाइको सुविधा उपलब्ध गराइएको थियो।क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत पानी तानेर दुईवटा ट्याङ्कीमा पानी सङ्कलन गरिएको सूचना अधिकारी चापागाईंले उल्लेख गरे ।
‘ट्याङ्कीमा सङ्कलित पानी करिब चार किलोमिटर क्षेत्रफलमा पाइप बिछ्याएर प्लट-प्लटमा धारा जडान गरिएको छ । उक्त धाराबाट करिब एक महिनादेखि पानी वितरण गरी सिँचाइ भइरहेको छ’, उनले भने ।
गण्डकी प्रदेश सरकारको करिब रु एक करोड २९ लाखको लागतमा निर्माण गरिएको लोग्दीटार लिफ्ट सिँचाइ आयोजनाबाट करिब तीन सय उपभोक्ता लाभान्वित भएका छन् ।
यस्तै, सिस्नेरी ठूलोफाँट लिफ्ट सिँचाइ आयोजनाबाट १२ हेक्टर क्षेत्रफलमा सुविधा पुगेको छ । आयोजना निर्माण भएपछि यहाँ हिउँदमा पनि हरियो सागसब्जी र तरकारी खेती गर्न पर्याप्त सिँचाइ उपलब्ध भएको छ । यस आयोजना विसं २०७५ देखि सुरु भएकामा हाल सम्पन्न भई सञ्चालनमा आएको सूचना अधिकारी चापागाईंले जानकारी दिए ।
सुक्खा जमिनमा सिँचाइका लागि पानी पर्याप्त भएसँगै किसानले तरकारीखेतीसँगसँगै धानखेती पनि गर्दै आएका छन् । यहाँका किसानले अहिले गहुँ, धान, मकै, काउली, बन्द, तोरीलगायत खेती गरिरहेका छन् ।
सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको सुविधा उपलब्ध गराउन योजनाबद्ध काम थालिएको कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले बताए । उनका अनुसार कार्यालयले अहिले शुक्लागण्डकी र भिमाद नगरपालिका, बन्दीपुर र देवघाट गाउँपालिकामा सोलर लिफ्ट सिँचाइ आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
‘लोकेतीटारमा २३, सिस्नेरीमा २७ र बेसारघारीमा ३२ वटा धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाएका छौँ’, प्रमुख लम्सालले भने, ‘सोलार लिफ्टको माध्यमबाट लोग्दीटारमा करिब चार सय ६० रोपनी, सिस्नेरीमा करिब तीन सय रोपनी र बेसारघारीमा छ सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।’
सिस्नेरी फाँटमा जमिनभन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको छ । उक्त आयोजनाअन्तर्गत तीन किमी क्षेत्रफलमा पाइप बिछ्याइएको छ ।
बेसारघारीमा स्थानीय खोलामा पोखरी बनाएर पानी जम्मा गरी एक सय चार मिटर उचाइमा सौर्य ऊर्जाको माध्यमबाट पानी लिफ्टिङ गरिएको कार्यालयले जनाएको छ ।
सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराई व्यावसायिक कृषि पेसामा आबद्ध किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य ऊर्जा लिफ्टिङ प्रविधिको प्रयोग गरी यी योजना सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयका डिभिजन प्रमुख लम्सालले बताए ।
उनले भने, ‘पानीको स्रोतभन्दा सिँचाइको सुविधा पु¥याउनुपर्ने क्षेत्र अग्लो स्थानमा भएकाले विद्युतीयमाध्यमबाट सिँचाइ पु¥याएका छौँ । विद्युत् महसुलले किसान मारमा पर्नसक्ने सम्भाव्यतालाई अध्ययन गरी सहज सोलार प्रविधिको उपयोगी गरिएको छ ।’
प्रदेश सरकारबाट सिँचाइका लागि कूल रु पाँच करोड ४१ लाख बजेट विनियोजन भएको छ । गत आवमा दुई सिँचाइ योजना सम्पन्न भएका प्रमुख लम्सालले जानकारी दिए । उनका अनुसार सङ्घ ससर्ततर्फ रु एक करोड ८५ लाख बजेट विनियोजन भएको थियो ।